१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेसको आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको जानकारी दिए।

प्रवक्ता शर्माले प्रदेश २ को अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए। उनले केन्द्रिय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रताका साथ अघि बढाइएको बताए।

‘नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेशनको अन्तिम चरणमा छौँ। नेपाली कांग्रेस पार्टीको संगठनको ८ वटा चरण छ, टोलदेखि केन्द्रसम्म। त्यसमा ७ वटा तहको निर्वाचनको प्रक्रियाहरु हुन्छ। वडादेखि लिएर प्रदेश अधिवेशनसम्म आउँदा ६ वटा तह सकिएको छ।’ उनले भने, ‘प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक ती विषयहरुलाई महाधिवेशनपछि हुने कुरा थाँति राखेर अब हामी केन्द्रिय अधिवेशनतर्फ केन्द्रित छौँ।’

प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको बताए। उनले अन्य प्रकारका रोगहरुका लागि समेत महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए। ‘पहिलादेखि नै कोरोनाको जोखिम कायमै रहेको अवस्थामा नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित नेपालमा भेटिएका छन्। त्यसलाई दृष्टिगत गरेर स्यानिटाइजर, मास्कलाई अनिवार्य गराउने, फील्डमा नै एन्टिजेन परीक्षण गर्ने, अन्य सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड, अन्य प्रकारका रोगहरुको लागि पनि हेल्थ डेस्क, यी सबै कुराहरुको व्यवस्थापन गरिएको छ।’ प्रवक्ता शर्माले बताए।

प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव आएको भएपनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रिय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निर्णय गर्ने बताए। यसपटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने उनको भनाई थियो।

प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरेपनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यसपटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रस्तावमा महाधिवेशनपछि नीति अधिवेशन हुने बताए। उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारे। प्रवक्ता शर्माले राजनीतिक दल आधुनिक र रुपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक गर्नुपर्ने बताए।

प्रकाशित: २१ मंसिर २०७८ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App