१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सभापतिमा उठ्छु,सहयोग गरिदिनुस्’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने बताएका छन्। महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँगको भेटमा उनले विधानबमोजिम एकपटक सभापति बन्न चाहेको बताएका हुन्।

सभापतिको उम्मेदवार बन्ने आन्तरिक तयारीमा रहे पनि उनले अहिलेसम्म औपचारिक घोषणा भने गरेका छैनन्। ‘पार्टी विधानबमोजिम एकपटक सभापति बन्न चाहेको छु। यो अन्तिमपटक हो, अर्को पटक विधानले पनि दिँदैन,’ उनले भने, ‘तपाईंहरूले सहयोग गर्दै आउनुभएको छ, फेरि एकपटक सहयोग गरिदिनुपर्‍यो।’

प्रधानमन्त्रीसमेत रहेका देउवाले आफू फेरि पार्टी सभापति हुँदा अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै अहिलेकै सरकारले तीनै तहको निर्वाचन गर्न सहज हुने बताए। आगामी निर्वाचनबाट पार्टीलाई जिताउने र सबैलाई समेटेर अघि बढ्न पनि आफू नै सभापति हुनुपर्ने देउवाको भनाइ थियो। ‘यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै अहिले प्रधानमन्त्री भएको हुँ,’ देउवाले भने, ‘फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु।

त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु,तपाईंहरूमार्फत पनि सबैलाई आग्रह गर्न चाहन्छु, एकपटक मलाई सहयोग गरिदिनुस्।’ २०७२ सालमा भएको कांग्रेस १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औंबाट पनि नेतृत्वमा निरन्तर चाहेका छन्।

एमालेले पार्टीको महाधिवेशनमा देशभरिबाट जनता चितवन उतारेर शक्ति प्रदर्शन गरे पनि कांग्रेसले आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने देउवाले बताए। कोरोनको नयाँ भेरिएन्ट आइसकेको बताउँदै देउवाले भने, ‘हामी पनि झापादेखि मान्छे उतार्न सक्छौं तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौं।’

फरक प्रसंगमा सभापति देउवाले तीनै तहको निर्वाचनमा अहिलेको गठबन्धनसँग चुनावी तालमेल गरेर जाने वा नजाने भन्ने निर्णय भइनसकेको बताए। ‘अहिले राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर जाने मात्र सहमति छ,’ उनले भने।

केपी ओली नेतृत्वको सरकार हुँदा प्रेसलगायत सबै क्षेत्र आतंकित भएको बताउँदै देउवाले अहिले अवस्था सहज रहेको दाबी गरे। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित लोकतन्त्रका आधारभूत कुरामा कांग्रेसले कसैसँग सम्झौता नगर्ने देउवाको भनाइ थियो।

प्रकाशित: २१ मंसिर २०७८ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App