१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्च अदालतका न्यायाधीश पूर्णरुपमा काममा फर्किए

सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशहरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्केका छन्। सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो। त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो। पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ। न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ मुद्दा सुनुवाइका लागि तोकिएको थियो। त्यसमा नौ मुद्दामा फैसला र एक मुद्दामा आदेश भएको छ। अन्य इजलासमा पनि त्यस्तै प्रभावकारी सुनुवाइ भएको देखिएको छ। आज २३ मुद्दामा फैसला र ४० मुद्दामा फैसला भएको छ।

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ। उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना भएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारी रुपमा सुनुवाइ हुन सकेको थिएन। शुक्रबार पनि मुद्दामा राम्रो सुनुवाइ भएको थियो।

सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्र्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए।  

बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन। यही मङ्सिर १५ गतेदेखि न्यायाधीशहरु र नेपाल बार एसोसिएनका मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ। आजदेखि न्यायाधीशहरु पूर्ण रुपमा काममा फर्केका छन्।

प्रकाशित: १९ मंसिर २०७८ १५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App