coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा ११४६ मत

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिको लागि मतदान भईरहेको छ। कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेलका उम्मेदवार शुक्रराज शर्मा र संस्थापन पक्षका अर्जुन जोशी सभापतिको दौडमा छन्।

प्रदेश सभापति चयनको लागि शनिबार भएको मतदान कार्य सकिएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको मतदानमा ११४६ मत खसेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले जानकारी दिए। ११ सय ६५ प्रदेश प्रतिनिधि मध्ये १९ प्रतिनिधि मतदानमा सहभागी भएनन्। प्रतिनिधि तथा काँग्रेस कार्यकर्ता एवं शुभचिन्तक मतगणना कार्यको प्रतिक्षामा छन्।

शर्माको प्यानलमा हरिप्रसाद श्रेष्ठ(बाग्लुङ–उपसभापति), कल्पना तिवारी (स्याङजा–उपसभापति), विष्णुप्रसाद लामिछाने (नवलपुर– महामन्त्री), किरण श्रेष्ठ(गोरखा–महामन्त्री), रामचन्द्र जोशी(पर्वत–सहमहामन्त्री), कोपिला रानाभाट(कास्की–सहमहामन्त्री) र रमेशकुमार पाण्डे(लमजुङ–सहमहामन्त्री) मा उम्मेदवार रहेका छन्।

त्यस्तै जोशीको प्यानलमा मेखलाल श्रेष्ठ(स्याङजा–उपसभापति), नेत्रबहादुर महत(म्याग्दी–उपसभापति) रहेका छन्। ईश्वर पाण्डे(गोरखा–महामन्त्री), कुमार खड्का(कास्की–महामन्त्री), ओमकला गौतम(नवलपुर–सह महामन्त्री), झुलबहादुर आले(तनहुँ–सह महामन्त्री) र राजनराज पन्त(गोरखा–सह महामन्त्री)को उम्मेदवारी रहेको छ।

प्रदेश काँग्रेस निर्वाचनमा जोशीको प्यानलमा गण्डकी प्रदेश सरकारका दुई मन्त्री छन्। मेखलाल श्रेष्ठ र कुमार खड्का प्रदेश सरकारका वर्तमान मन्त्री समेत हुन्।

प्रदेश कार्यसमितिमा भूगोलअन्तर्गत मनाङबाट पुरुषतर्फ विनोद गुरुङ र महिलातर्फ चिउडे लामा निर्विरोध भइसकेका छन्। विधान अनुसार प्रदेश कार्यसमितिमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई सदस्य रहने व्यवस्था छ।

सोही विधानअनुसार मनाङबाट गुरुङ र लामा निर्विरोध भएका हुन्। त्यसैगरी मुस्ताङबाट भूगोलअन्तर्गत पुष्पा भट्टचन र सुवर्णकुमार विष्ट निर्विरोध भएका हुन्।

तनहुँबाट मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य चयन भएका छन्। भूगोल तर्फबाट उम्मेदवारी दिएकी पर्वतबाट मिनाकुमारी केसी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।  

प्रकाशित: १८ मंसिर २०७८ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App