१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस जनताको साथी बन्नुपर्छः महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई जनताको साथी बनाउनुपर्ने बताएका छन्। उनले कांग्रेसको राष्ट्रियता, लोकतन्त्र, समाजवादसँगै विभिन्न समयमा भएका परिवर्तनको नेतृत्वकर्ताका हैसियतले कांग्रेससँग जनताको गुनासो नरहेको बताउँदै जिम्मेवारीमा गर्दा नेताहरुले गर्ने व्यवहार, बोल्ने बोली र बचनबाट जनता कांग्रेसबाट टाँढिएको बताए।

‘पार्टी बचाएर जमिनमा बसेका सदस्य र जनताको कांग्रेसप्रति ठूला गुनासा केही छैनन्,’ बिहीबार पार्टीको प्रथम कर्णाली महाधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले भने, ‘नेता र नेतृत्वमा रहेका रहेकाहरुले बोली, बचन र व्यवहार राम्रो गरिदिए पुग्छ।’

उनले कांग्रेस सबैलाई मिलाएर लिने ‘मियो’ भएको बताए। महामन्त्री खड्काले धैर्यता, लगनशीलता र लोकतान्त्रिक संस्कृतिलाई आत्मसाथ गर्न सके सफलता टाढा नहुने बताए। ‘कांग्रेसले धैर्यता, लगनशीलता र लोकतान्त्रिक संस्कृतिलाई आत्मसाथ गरेकै कारण संघीयदेखि प्रदेश तहसम्मको नेतृत्वमा हामी छौं,’ उनले भने, ‘कांग्रेस घमण्ड र अहंकारबाट होइन, लोकतान्त्रिक संस्कृतिबाट सबैलाई मिलाउने मियो हो।’

महामन्त्री खड्काले केन्द्रदेखि प्रदेशसम्म कांग्रेसको नेतृत्व भएपनि थोरै समय भएकाले धेरै महत्वपूर्ण कामहरु गर्नुपर्ने बताए। ‘समय थोरै छ, यहीँ थोरै समयमा कांग्रेस नेतृत्वका सरकारले धेरै महत्वपूर्ण काम गर्नुछ,’ उनले भने, ‘जनताका जीवनसँग जोडिएका र भोग्नुपरेका अप्ठ्यारा र असहजतालाई अनुभूति गर्ने गरेर नेतृत्वदेखि कांग्रेसजनले काम गर्न जरुरी छ।’ उनले ‘कांग्रेस आयो, ढिलासुस्ती हट्यो’ भन्ने अनुभूति जनताले गर्ने गरेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए।

उनले अहिलेको परिवर्तन कर्णालीका कारण संभव भएको बताए। ‘दुई तिहाईको कम्युनिष्टको बलसाली सरकारलाई कर्णालीबाट ढाल्न सफल भयौं,’ उनले भने, ‘कर्णालीले एतिहासिक निर्णय नलिएको भए अहिले पनि नेकपा एमालेले संघ र अन्य प्रदेशमा नेतृत्व गरिरहेको हुन्थ्यो।’ उनले कर्णालीकै कारण गठबन्धन संभव भएको पनि बताए।

महामन्त्री खड्काले कांग्रेस भएर सूर्य, गाईमा भोट हाल्ने र हाल्न लगाउनेहरु पार्टीका लागि ‘दुस्मन’ भएको बताए। ‘लोकतान्त्रिक पार्टीमा निर्वाचन पवित्र अभ्यास हो,’ उनले भने, ‘यसैलाई निहुँ बनाएर सूर्य, गाईमा भोट हाल्नेहरु पार्टीका लागि दुस्मन हुन्।’

प्रकाशित: १६ मंसिर २०७८ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App