८ वैशाख २०८१ शनिबार
राजनीति

नेताहरु पूँजीवादी भासमा पर्दा देश संकटमाः बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले शासक दलका नेताहरु पूँजीवादी भासमा पर्दा देश संकटमा परेको बताएका छन्।

भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप इन्जिनियरिङ कलेजको २० औं र ख्वप कलेज अफ इञ्जिनियरिङको १३ औं वार्षिकोत्सवको अवसरमा उनले देशका शासक दलका नेताहरुको गलत स्वभावको सिकारमा देश परेको बताएका हुन्।

उनले नेपालमा प्रत्यक्ष रुपमा भारतीय एकाधिकार पूँजी र संस्कृतिको प्रभाव देखिन थालेकाले देश परनिर्भर बन्दै गइएको बताए। ‘आर्थिक र साँस्कृतिक रुपले जुन देशको प्रभाव पर्छ, त्यो देश उनीहरुको निर्णयमा चल्छ,’ उनले भने।

अध्यक्ष बिजुक्छेंले देशको संविधानमा समाजवादको कुरा उल्लेख भएको तर देश चलाउने दलका नेताहरु भने पूँजीवादी भासमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले नेताहरु समाजवादको सिद्धान्त बोक्ने तर व्यवहार भने पूँजीवादको गर्ने स्वभावका हुनु विडम्वनाको विषय रहेको उल्लेख गरे।

‘संविधानमा समाजवादको कुरा उल्लेख गरेको तर पार्टीभित्र पूँजीवादी विचार प्रवृत्ति मौलाइरहेको छ’, उनले भने। सो क्रममा उनले सिद्धान्तविपरीत काम गर्ने नेताहरु बढिरहेको बताउँदै पूँजीवादी व्यवस्थामा सरकारमा गएर समाजवाद ल्याउन नसकिने उल्लेख गरे। उनले सरकारमा गएर समाजवाद आउँछ भन्नु गलत भएको व्याख्या गर्दै समाजवादका लागि पूँजीवादी व्यवस्थालाई ध्वस्त गर्न जरुरी रहेको उल्लेख गरे।

अध्यक्ष बिजुक्छेंँले शान्तिपूर्ण तरिकाले समाजवाद नआउने भएकाले त्यसका लागि संघर्ष जरुरी रहेकोमा जोड दिँदै इन्जिनियरहरुले पनि राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले देश भरनिर्भर बन्दै गएको र कृषि अर्थतन्त्रमा समेत देशको आत्मनिर्भरता हटेकोमा चिन्ता व्यक्त गरे। उनले देशका अधिकांश युवाहरु विदेश जाँदा त्यसको प्रत्यक्ष प्रभाव देशले नै भोगिरहेको बताए। विदेशी विश्वविद्यालय खुलिरहेको बताउँदै उनले सर्टिफिकेट समेत बिक्रीको सम्भावना बढेको बताए।

प्रकाशित: १५ मंसिर २०७८ १५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App