१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ताको दुरुपयोग भइरहेको छः डा. कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ता र शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा, प्रदेशसभा अधिवेशनबाट निवार्चित कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र वितरण गर्न मंगलबार धरानमा आयोजित कार्यक्रममा नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्। उनले सुनसरी र मोरङमा पनि संस्थापन पक्षका उम्मेदवारलाई जिताउन विभिन्न हतकण्डाहरु प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा नै भएको दाबीसमेत गरे।

आफ्नो समूहले मतपरिणाम जे आएपनि स्वीकार गरिरहेको उल्लेख गर्दै कोइरालाले अर्को समूहले भने स्वीकार गर्न नमानिरहेको बताए। ‘मत परिणाम जे आएपनि हामीले स्वीकार गरिररहेका छौ, तर एउटा जमात छ, त्यो जमात स्वीकार गर्दैन, उनीहरुलाई मतलवै छैन,’उनले भने,‘किनभने उनीहरु देशको बागडोर चलाइरहेको छ। प्रधानमन्त्रीको निर्देशनमा, गृहमन्त्रीको निर्देशनमा यो सब भइरहेको छ। त्यसको बाबजुद पनि तपाईहरु विजयी हुनुभयो।’

सुनसरीको क्षेत्र नं १ को क्षेत्रीय समिति, प्रदेशसभा १ (क) र १ (ख) दुवैमा संस्थापन इतर पौडेल कोइराला समुहको प्यानल विजयी भएको छ भने सुनसरी जिल्ला सभापतिमा पनि संस्थापन इतर समुहका सभापतिसहित पदाधिकारीमा बर्चश्व कायम गरेको छ। निर्वाचन समितिले मतपरिणाम घोषणा गरिसकेको अवस्थामा संस्थापन पक्षले उपसभापति र सचिवको पुनः मतगणनाको माग गर्दै निवेदन दिएकोको सन्दर्भमा कोइरालाको यस्तो अभिव्यक्ति आएको हो।

सभापति एवं प्रधानमन्त्री देउवाको जिल्ला डडेलधुरामा प्रहरी, प्रशासन लगाएर जर्बजस्ती जिल्ला अधिवेशन गराएको पनि नेता कोइरालाले बताए। कांग्रेसको विधानमा निर्वाचन अधिकृतले सभपातिसँग सल्लाह गरेर मात्र अधिवेशन गर्ने प्रावधान भएपनि जिल्ला सभापतिसँग सल्लाह नगरिकनै अधिवेशन गरेको बताए।

यस्तै, प्युठानमा पनि ५३० मत ल्याउदा विजयी हुने अवस्थामा ५२९ मत ल्याइसकेको बेला हुलदंगा, मारपिट भएको र सर्लाहीको वडा अधिवेशनमा गोली चलेको घटना पनि स्मरण गराए। ‘राजनीतिमा सँस्कार र नैतिकता दुवै हुनुपर्छ तर हाम्रो नेतृत्वकर्तामा न त राजनीतिक सँस्कार छ, न त नैतिकता छ। अनि, हामी कस्तो नेपाली कांग्रेस बनाउन खोजीरहेका छौ?’ नेता कोइरालाले भने,‘उहाँहरु विधिलाईस्वीकारर्ने पक्षमा हुनुहुन्न। विधानलाई मान्ने पक्षमा हुनुहुन्न, समयमा काम गर्नुहुन्न। निर्वाचन जस्तो गहन बिषयमा पनि ख्याल ठट्टा लिएर अघि बढीरहनुभएको छ भने कस्तो सँस्कार हुर्काइरहनु भएको रहेछ?’

नेता कोइरालाले नेपाली कांग्रेसको चुनौती कम्युनष्टिसँग कसरी भिडेर जाने भन्ने रहेको बताए। कम्युनिष्टसँग मिलेर नभै वैचारिक द्वन्द्व गरेर अघि बढ्नुपर्नेमा अहिलेको नेतृत्वले मिलेर गएकोप्रति पनि उनले आलोचना गरे। नेता कोइरालाले आफू पनि सभापतिको उम्मेदवार भएको तर रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतसँग पनि सल्लाह गरेर अघि बढ्ने बताए। ‘म उम्मेदवार हो, शंका भएन। तर रामचन्द्र जी जस्तो वरिष्ठ साथी हुनुहुन्छ, सल्लाह गर्नुपर्ने छ। प्रकाशमान सिंह हुनुहुन्छ, अरु साथीहरु हुनुहुन्छ। टिमै बनाएर जानुपर्छ भन्ने मेरो मान्यता हो। त्यो टिम युवाहरुको टिम हुन्छ,’उनले भने,‘नेपाली कांग्रेको १५ औं महाधिवशेनमा सभापति लगायत सबै पादधकिारीहरुमा युवा नेतृत्व आउछ। त्यसको लागि यही नेतृत्व अघि बढाउन खोज्यौ भने फेरि अफ्ठेरोमा पर्छ।’

अहिलेको नेतृत्वले पार्टीलाई विधि र विधानसम्मत अघि नबढाएकोमा सबै रुष्ट भएपनि बोल्न अफ्ठेरो भएकोले उकुसमुकुस अवस्थामा रहेको पनि कोइरालाको भनाई थियो। त्यो उकुसमुकुसलाई आगामी महाधिवेशनमा ब्यालेट पेपरबाट नेतृत्व परिवर्तनको पक्षमा खसाउन पनि कोइरालाले आग्रह गरे। उनले भने, ‘पार्टीभित्र बोल्न अफठेरो छ, किनभने नेतृत्व देशको प्रधानमन्त्री हुनुहुन्छ, गृहमन्त्री हुनुहुन्छ। तपाईहरुमा परेको उकुस मुकुसलाई सडकमा फाल्ने होइन, झगडा गरेर, लडाई मारपिट गरेर समाधान गर्न खोज्ने होइन, जुन उनीहरुले गर्न खोज्दैछन्। त्यो उकुसमुकुसलाई तपाईहरुले ब्यालेट पेपरमार्फत नेतृत्व परिवर्ननमा खसाउनु हुनेछ भन्ने विश्वास लिएको छु।’

देश कम्युनिष्टमय भएको भन्दै उनले कांग्रेस एकढिक्का नभए आगामी निर्वाचनमा कम्युनिष्टहरुलाई पराजित गर्न नसकिने नेता कोइरालाको भनाई थिया। ‘देशै कम्युनिष्टमय भइसकेको छ, ६५ प्रतिशत सांसद कम्युनिष्टहरु छन्। कम्युनिष्टहरुलाई हामीले पराजित कसरी गर्ने? एकढिक्का भएनौ भने पारजित गर्न सकिदैन,’उनले भने।

महाधिवेशन २ दिन पर सारेको प्रति पनि उनले असन्तुष्टी जनाए। ‘महाधिवेशन २ दिन सारेको छ, किन सारेको हो म बुझ्दिन। जरुरी थियो कि थिएन २ दिन सार्नुपर्ने?’, उनले भने,‘पक्कै पनि २७ मंसिरमा महाधिवेशन हुन्छ भन्ने विश्वास राख्छुँ, हामीसँग विश्वास गर्नु बाहेक अर्को बाटो देखिँदैन।’

प्रकाशित: १४ मंसिर २०७८ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App