७ वैशाख २०८१ शुक्रबार
राजनीति

मलाई गुटले जिताएको होइन: सभापति खड्का

नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापति डम्बरबहादुर खड्काले पार्टीको कुनै गुटको सहयोगले नभई आफू मतदाताको रोजाइमा परेर निर्वाचित भएको बताएका छन्। उनले बाहिर चर्चा भएजस्तो संस्थापनइतर समूह र संस्थापनकै पनि अर्काे गुटले आफूलाई सहयोग नगरेको बताए।

‘बाहिर चर्चामा आएजस्तो मलाई अरू गुटले होइन, मतदाता (क्षेत्रीय प्रतिनिधि)ले चाहिँ सहयोग गरेका हुन्,’ उनले आइतबार पत्रकार सम्मेलन आयोजना गरी भने, ‘चर्चा भएअनुसार अरू गुटले सहयोग गरेको भए म ४ सयभन्दा बढी मतान्तरले जित्ने थिएँ, त्यसैले मलाई कसैको गुटले होइन, प्रतिनिधिले जिताएका हुन्।’

जिल्ला अधिवेशनको अघिल्लो दिनसम्म संस्थापनइतरका निवर्तमान सभापति हिमालय कर्माचार्य र भेषराज आचार्य तथा संस्थापनबाट पूर्वसभापति केशव थापा र खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने चर्चा थियो। चारैजनाले वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा आ–आफ्ना प्यानल बनाउँदै निर्वाचन लडाएका थिए।

तर, स्थानीय तहदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मको अधिवेशनमा आफ्नो प्यानलको नतिजा अपेक्षाअनुसार नआएपछि कर्माचार्य र थापाले जिल्ला सभापतिमा उम्मेदवारी नै दिएनन्। सभापतिमा आचार्य र खड्कामात्रै प्रतिस्पर्धी भए। अधिवेशनको दिन बिहान सभापति कर्माचार्य र पूर्वसभापति थापाले खड्कालाई समर्थन गरे। र, आफ्नो प्यानलका अन्य पदाधिकारीका आकांक्षीलाई संस्थापनका खड्काकै प्यानलबाट उम्मेदवार बनाए।

यसो गर्दा आ–आफ्नै प्यानल रहेका सभापतिका ३ आकांक्षी एकापट्टि र संस्थापनइतर भेषराज आचार्य एक्लै अर्कापट्टि भए।

शुक्रबार सम्पन्न निर्वाचनमा तिनै सभापतिका आकांक्षीको प्यानलबाट खड्काले आचार्यलाई १ सय ६० मतान्तरले पराजित गरे। खड्काले ९ सय ३५ र आचार्यले ७ सय ७५ मत ल्याए। तर, दुुवै उपसभापति (खगेन्द्र देवान र विष्णु दाहाल) आचार्यकै प्यानलबाट विजयी भए। एक सचिव (पूर्ण गौतम) आचार्यकै प्यालनबाट विजयी भए भने अर्का सचिव (निरोज खड्गी) खड्काको प्यानलबाट विजयी बने। तर, खड्गी संस्थापनइतर हुन्।

सहसचिवमा खड्का प्यानलबाट डालाकुमारी कार्की र आचार्य प्यानलबाट देवेन्द्र सुुवेदी विजयी भए। सुवेदी पनि संस्थापनइतर हुन्।

सभापति खड्काले भने अब जिल्लामा पार्टीभित्र ४ गुट नभएको दाबी गरे। ‘मैले चुनाव जित्दैगर्दा ४ गुट २ मा झरेका छन्,’ उनले पत्रकार सम्मेलनमा भने, ‘बाँकी गुटलाई पनि एक बनाएर पार्टी बलियो बनाउने जिम्मा अब हाम्रो काँधमा आएको छ।’

उनले आफूू र पूर्वसभापति थापा चाहिँ फरक नभएको बताए। ‘म भन्नुु र केशव थापा भन्नु चाहिँ एउटै हो,’ उनले भने, ‘अब कसैलाई भेदभाव नगरी पार्टीलाई सशक्त र संगठित बनाएर लैजाने प्रतिबद्धता गर्छु।’

त्यसैक्रममा खड्काले इलाम सदरमुकाममा रहेको आफ्नो ५ आना जग्गा पार्टीको जिल्ला कार्यालयलाई प्रदान गरेको घोषणा गरे।खड्काले आफू जिल्ला सभापतिमा निर्वाचित भए कार्यालय भवन बनाउनेलगायतका प्रतिबद्धता उम्मेदवारी घोषणाकै दिन गरेका थिए।

प्रकाशित: १२ मंसिर २०७८ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App