१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग नलगाएसम्म आन्दोलन

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आइतवार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। बारले सर्वोच्चमा निरन्तर धर्ना दिदैँ आएको छ। आइतबारको धर्नालाई वरिष्ठ अधिवक्ता पुर्णमान शाक्य, अधिवक्ता अनन्तराज लुँइटेल र अधिवक्ता पदमबहादुर श्रेष्ठले सम्बोधन गरेका थिए।

सो क्रममा वरिष्ठ अधिवक्ता शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन्। आइतवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताए।

उनले प्रधानन्यायाधीश जबरा कानूनी र कागजी रुपमा प्रधानन्यायाधीश पदमा हालसम्म कायम रहेको भएपनि व्यवहारिक रुपमा भने सो पदमा नरहेको जिकिर गरे। उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जनतालाई दुख दिएर अदालत ठप्प पारेको आरोप लगाए।  

यस्तै अधिवक्ता अनन्तराज लुँइटेलले आगामी दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढंगले गर्नुपर्ने बताए। अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उनले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोसेढुंगा साबित गराउनुपर्नेमा जोड दिए।

अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानन्यायाधीश जबरा न्यायपालिकाको प्रदुषण भएको टिप्पणी गरे। कानून व्यवसायीको आजसम्मको कुनैपनि आन्दोलन असफल नभएकाले प्रधानन्यायाधीश विरुद्धको यो आन्दोलन पनि सफल हुने उनको दाबी थियो।

प्रकाशित: १२ मंसिर २०७८ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App