प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको राजीनामालगायत विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बुधबार नेपालगन्जमा पनि विरोध सभा गरेका छन्। उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास परिसरमा विरोध कार्यक्रमसहित कानून व्यवसायीले बुधबारको बहस बहिष्कार गरे।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाका कारण लोकतन्त्र खतरामा पर्न थालेकाले बार आन्दोलनमा उत्रिनु परेको बताए। ‘लोकतन्त्र भनेको त कानूनको शासन, संवैधानिक सर्वोच्चता कायम गर्ने हो, अहिले संविधानको पनि सर्वोच्चता कायम रहेन,’ उनले भने ‘कोही मान्छेले पनि न्यायलाई सुलभ रुपले प्राप्त गर्न सकेन, लोकतन्त्रको मेरुदण्ड भनेको नै अदालत हो, न्याय स्वतन्त्र हुनुपर्छ, हामीले दशौं वर्ष लगाएर आन्दोलन गरी ल्याएको लोकतन्त्र चोलेन्द्र सम्शेरका कारण खतम हुन लाग्यो।’
नेपाल बारका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठले न्यायपालिकाभित्रको विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य नहुँदासम्म नेपाल बार एशोसिएसनको अभियान निरन्तर चलिरहने बताए। न्यायपालिकाभित्रको विकृती, विसंगती र भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने अभियान आफुले वकालत सुरु गर्दादेखी नै उठिरहेको बताए ।
उच्च अदालत बार नेपालगन्जका अध्यक्ष शिवकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको विरोध कार्यक्रममा नेपाल बारका पुर्वउपाध्यक्ष टिकाजंग सिंह, जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, वरिष्ठ अधिवक्ताद्वय विजय गुप्ता र श्यामप्रसाद गौतम लगायतले सम्बोधन गरेका थिए।
नेपालगन्जसहित देशभरका १८ वटा उच्च अदालत बार एशोसिएशनको अगुवाईमा बुधबार बिरोध कार्यक्रम गरिएको थियो।
प्रकाशित: ८ मंसिर २०७८ १२:५२ बुधबार