१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: सिन्धुमा संस्थापन पक्षको वर्चस्व

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकमा सम्पन्न पालिका (गाउँ÷नगर) अधिवेशनमा पार्टी संस्थापन पक्षले वर्चश्व कायम गरेको छ। जिल्लाका १२ स्थानीय तहमध्ये आठ पालिकाको नेतृत्वमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले बाजी मारेको हो।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका धेरै नेता, कार्यकर्ता रहेको भनिएको जिल्लामा संस्थापनइतर पक्ष तीन पालिकामा सीमित भएको छ। एक पालिका भने तेस्रो समूहले जितेको छ। १० स्थानीय तहको अधिवेशन सोमबार सम्पन्न भएको थियो भने दुईको नेतृत्व चयन मंगलबार सकिएको हो। तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो। नौ पालिकामा भने नेतृत्व चयनका लागि मतदान नै भएको थियो।

जिल्लामा पार्टी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संस्थापन पक्ष र जिल्ला सभापति विकास लामाले संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका छन्। सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा इन्द्रलोचन धिताल सभापतिमा सर्वसम्मत चयन भए। उनी संस्थापनइतर समूह निकट मानिन्छन्। तर धितालले भने आफूहरु गुट भत्काउने अभियानअन्तर्गत सर्वसम्मत चुनिएकाले कुनै खेमाको बिल्ला भिराउनु उचित नहुने जिकिर गरे।

जुगल गाउँपालिका सभापतिमा युवा नेता सगुन श्रेष्ठ सर्वसम्मत चुनिए। उनी संस्थापन पक्षका हुन्। इन्द्रावती गाउँ पालिकामा सर्वसम्मत नै सभापति चुनिएका जीवन थापामगरले संस्थापनइतर समूहको प्रतिनिधित्व गर्छन्। पाँचपोखरी थाङपाल गाउापालिका सभापतिमा प्रेम दोङ निर्वाचित भए। उनी संस्थापनइतर खेमाका हुन्। उनले संस्थापन पक्षका सूर्य अधिकारीलाई हराए।

संस्थापन र इतर खेमाका उम्मेदवारलाई पराजित गर्दै भोटेकोसी गाउँपालिकामा देवीबहादुर बुढाथोकीले बाजी मारे। यहाँ संस्थापनबाट साङ्बो शेर्पा र संस्थापनइतरबाट मुके शेर्पा प्रतिस्पर्धामा थिए। संस्थापनलाई तेस्रो र संस्थापनइतरका उम्मेदवारलाई दोस्रो स्थानमा सीमित गर्दै तेस्रोधारका बुढाथोकी दुबै गठबन्धनविरुद्ध हावी भए। बुढाथोकी अहिले कांग्रेस नेता शंकर भण्डारीसँग व्यक्तिगत रुपमा नजिक मानिन्छन्।

संस्थापन पक्ष जिल्लाका महत्वपूर्ण दुई नगर र ६ गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल भयो। नेता बस्नेतको गृहनगर बाह्रविसेमा संस्थापन पक्षका शम्भु तिमिल्सिना निर्वाचित भए। उनले संस्थापनकै रेशम लामालाई पराजित गरे। त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनलाल श्रेष्ठ विजयी भए। संस्थापन निकट उनले इतर समूहका समिर लामालाई पराजित गरे। सुनकोसी गाउापालिका सभापतिमा रुपकाजी लामा चुनिए। चार भोटले इतरसमूहका जगन्नाथ कार्कीलाई पराजित गर्दै संस्थापन निकट लामाले बाजी मारे। बलेफी गाउँपालिका सभापतिमा रामकुमार लामा निर्वाचित भए। दुबै खेमाका साझा उम्मेदवारको रुपमा प्रतिस्र्धामा उत्रिएका उनी खासमा संस्थापननिकट मानिन्छन्।

मेलम्ची नगरपालिकामा संस्थापन निकटकै बसन्त गुरुङ निर्वाचित भएका छन्। उनले संस्थापनइतर समूहका उम्मेदवार प्रकाश दाहाललाई परास्त गरे। हेलम्बु गाउँपालिका सभापतिमा राजकुमार भण्डारी चयन भए। उनी संस्थापन पक्षका उम्मेदवार थिए। उनले सञ्च तामाङलाई हराए। लिसंखुपाखर गाउँपालिका सभापतिमा जोगलाल तामाङ विजयी भए। उनले संस्थापनइतर समूहका उम्मेदवार दुवाछिरिङ तामाङलाई पराजित गरे।

मंगलबार अपराह्न घोषित मतपरिणामअनुसार संस्थापनका जोगलालले ७८ भोट ल्याउँदा दुवाछिरिङले ५७ मत मात्र प्राप्त गरे।

वडा र पालिका तहको मतपरिणामलाई विश्लेषण गर्दा प्रदेश, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनमा समेत संस्थापनले इतर पक्षलाई समस्यामा पार्न सक्ने देखिन्छ। गाउँ अधिवेशनबाट ६२ प्रतिशत प्रतिनिधि आफ्नो समूहबाट चयन भएको संस्थापन पक्षको दाबी छ। तर अहिल्यै सम्पन्न निर्वाचनको मतपरिणामलाई लिएर बाँकी चुनावी नतिजा विश्लेषण गर्नु हतार हुने संस्थापनइतर समूहका नेताहरुको भनाइ छ।  

प्रकाशित: ७ मंसिर २०७८ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App