१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा स्थापित हुन सातै प्रदेशमा आफू निकटलाई जिम्मेवारी तोक्दै तयारी तीव्र पारेका छन्।

तर तीन वर्षदेखि पार्टी नेतृत्वबाट देउवालाई विस्थापित गर्नुपर्ने बताउँदै आएका संस्थापन (देउवा) इतरका नेताहरूबीच अहिले संवाद पनि हुन छाडेको छ। प्रधानमन्त्रीसमेत रहेका देउवालाई टक्कर दिन साझा उम्मेदवार बनाउने बताउँदै आएका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालासहितका संस्थापन इतरका नेताहरू भने तितरबितर भएका छन्।

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए।

तर पार्टी विधानले दिएको अतिरिक्त एक वर्षको समय मात्र होइन, संवैधानिक सीमाभित्र पनि महाधिवेशन गराउन नेतृत्वलाई दबाब दिन संस्थापन इतर नेताहरू असफल बने। माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीहरूले अद्यावधिक वितरण बुझाउनैपर्ने भएपछि कांग्रेसले मंसिर २४ र २५ गते नयाँ नेतृत्व मात्र चयन गर्नेगरी महाधिवेशन गर्न लागेको छ।

महाधिवेशन सुरु हुन तीन साता मात्र बाँकी रहँदा साझा उम्मेदवार बनाउन तल्लो तहबाट संस्थापन इतरका नेताहरूमाथि दबाब बढ्दै गएको छ। तर नेता तथा कार्यकर्ताको दबाब र आग्रहलाई बेवास्ता गर्दै जिल्ला दौडाहामा निस्केका सभापतिका आकांक्षी वार्तामा बस्नुको साटो आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

पार्टी सभापति देउवा नेतृत्वको सरकारमा आफू निकट नेतालाई सहभागी नगराएपछि संस्थापन इतरका नेतासँग रुष्ट बनेका पूर्वमहामन्त्री सिंह सबैभन्दा आक्रामक देखिएका छन्। पछिल्ला दिनमा उपत्यकाबाहिरको कार्यक्रममा व्यस्त सिंह पार्टी नेता रामचन्द्र पौडेलविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्।

सिंहले देउवा र पौडेलबाट अब कांग्रेस नचल्ने बताउँदै आएका छन्। उनले १३औं महाधिवेशनमा पौडेल सभापतिको उम्मेदवार बन्दा आफूले सहयोग गरेको बताउँदै आएका छन्। यसै आधारमा १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पौडेलले आफूलाई सहयोग गर्नुपर्ने जिकिर सिंहको छ।

त्यतिमात्र होइन, प्रतिनिधिसभा निर्वाचन जित्न नसक्ने नेताले पार्टीलाई चुनाव जिताउन नसक्ने भन्दै उनले सभापतिका आकांक्षी पौडेल र शेखर कोइरालालाई नेतृत्वमा स्वीकार नगर्ने संकेत गरेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पौडेल र शेखर दुवै पराजित भएका थिए।

२०७४ सालमा भएको संसदीय दलको निर्वाचनमा आफू दलको नेताको उम्मेदवार बन्दा महामन्त्री शशांकबाट सहयोग नपाएको गुनासो सिंहले गर्दै आएका छन्। शशांकले पनि आफूलाई सभापतिको प्रत्यासीका रुपमा प्रस्तुत गर्दै आएका छन्।

१३औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित शशांकले जिम्मेवारीअनुसार काम गर्न नसकेको सिंहको आरोप छ। पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न आफूले सक्ने र आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको उनको दाबी छ।

तर महामन्त्री शशांकले सिंहले काठमाडौंबाहिरका नेता तथा कार्यकर्ता चिन्न नसकेको बताएका छन्। उपत्यकाबाहिर अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शशांकले भनेका थिए, ‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ। काठमाडौंबाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन्। उहाँ महामन्त्री हुनुभयो तर कार्यकर्तामाझ आत्मीय बनेको देखिएन।’

महामन्त्री शशांकको भनाइको खण्डन गर्दै सिंहले बुधबार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा आफूले तल्लो तहबाट राजनीति र संगठन गरेर आएको बताए। उनले आफूले उपसभापति, महामन्त्रीलगायतका पदमा बसेर काम गरिसकेकाले अब सभापतिको प्रत्यासी बन्ने बताइरहेका छन्।

‘अब मलाई नै कार्यकर्ताले चिन्दैन भनेर दुष्प्रचार भइरहेको छ,’सिंहले विराटनगरमा भने, ‘१२औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री जितेको हुँ। मलाई कसैले चिन्दैन भन्नेलाई मेरो इतिहास हेर्न अनुरोध गर्दछु।’

देउवालाई सभापतिमा आफूले मात्र हराउनसक्ने दाबी गर्दै आएका शशांकले पार्टी नेता तथा कार्यकर्ताको भावनाअनुसार संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन भने बाधक नबन्ने बताए। पौडेल १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनिसकेकाले अब १४औं महाधिवेशनमा उम्मेदवार बन्न नहुने शशांकको तर्क छ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समेटेर अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘उहाँ (सिटौला) लाई हामीसँग तानेर एउटै उम्मेदवार बनायौं भने शेरबहादुरजी हार्नुहुन्छ।’ नाताले दाजु शेखर कोइराला पनि सभापतिका लागि लागिरहेको भन्दै शशांकले भने, ‘उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्नुपर्‍यो। मलाई त गरिहाल्नुहुन्छ नत्र मैले उहाँलाई कन्भिन्स गर्नुपर्छ।’

शेखरले भने आफू चार वर्षदेखि नेता तथा कार्यकर्ताबीचमा रहेको दाबी गर्दै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्। गुटको बैठकलाई केही समयअघिसम्म अस्वीकार गर्दै आएका शेखर पौडेलसहितका नेतासँग आक्रामक थिए।

पौडेलले पार्टी नेतृत्व सम्हाल्न नसक्ने र सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने बताउँदै आएका शेखर पछिल्ला दिनमा नेताहरूविरुद्ध बोलेका छैनन्।

पौडेलले संस्थापन इतरबाट अन्य आकांक्षीबीच साझा उम्मेदवारमा सहमति भए आफू बाधक नबने बताएका छन्। पार्टी सभापति भएर स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने इच्छा व्यक्त गरेका पौडेलले त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि राखेका छन्।

सहमतिका लागि आफू बाधक नबन्ने बताउँदै पौडेलले शशांक,प्रकाशमान र शेखरलाई मिल्न सुझाएका छन्। तर प्रकाशमान अहिले संस्थापन इतरको भेलामासमेत सहभागी हुन छाडेका छन्।

नेत्री सुजाता कोइराला, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसीले पनि संस्थापन इतर पक्षबाट साझा उम्मेदवार निर्माण नभए प्रत्यासी बन्ने बताउँदै आएका छन्। ‘संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गर्छु,’ केसीले भने, ‘सहमति जुटेन भने म पनि सभापतिको उम्मेदवार बन्छु।’

प्रकाशित: २ मंसिर २०७८ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App