विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्वि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको माओवादीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ।
कांग्रेसको १४ओैं महाधिवेशन अन्तर्गत सुर्खेतसहित ११ जिल्लामा मंगलबार गाउँ, नगर अधिवेशन हुने कार्यतालिका थियो। कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतले मंगलबारका लागि तय गरिएको गाउँ, नगर अधिवेशन एक दिनपछि बुधबार सारिएको बताए। ‘विप्लव नेतृत्वको माओवादीको बन्दका कारण गाउँ, नगर अधिवेशन एक दिन सरेको छ’, उनले भने, ‘यातायातका साधन नचल्ने भएकाले गाउँगाउँबाट आउने प्रतिनिधिको सहजताका लागि एक दिनका लागि सुर्खेतको गाउँ, नगर अधिवेशन सारिएको हो।’
सुर्खेतका नौ वटै पालिकामा मंगलबार अधिवेशन हुने कार्यतालिका थियो।
प्रकाशित: २९ कार्तिक २०७८ १४:३१ सोमबार