नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध भएकाहरुले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन्।
शुक्रबार विराटनगरमा आयोजित ‘१४ औं महाधिवेशनमा श्रमजीवीहरुको भूमिका’ विषयक कार्यक्रममा ट्रेड युनियनकर्मीहरुले पार्टीको विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका हुन्। मोरङबाट प्रतिनिधित्व गर्ने ट्रेड यूनियनकर्मीहरुले मंसिर ३ देखि १० गतेसम्म हुने महाधिवेशनमा २५ जनाले उम्मेदवारी घोषणा गरेका हुन्।
ट्रेड युनियन मोरङका अध्यक्ष सुशील कोइरालाले जिल्ला सचिवका लागि दाबी गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि तथा सार्क टुकका महासचिव लक्ष्मणबहादुर बस्नेतले श्रमजीवीको भविष्य निर्माणका लागि उम्मेदवारी आउनु सुखद् भएको बताए। सामाजिक न्यायका लागि ट्रेड युनियनले भूमिका खोजिरहेको अवस्थामा नीति निर्माण तहमा आफ्नै उपस्थिति हुँदा श्रमजीवीको हकअधिकार सुनिश्चित रहने बस्नेत बताए। सबैलाई एकढिक्का भएर निर्वाचनमा साथ दिन बस्नेतले आग्रह गरे।
त्यसैगरी, ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीको नीति निर्माण तथा योजनासम्म पुग्नु पर्ने बताए। विगतका निर्वाचनमा कांग्रेस मजदुर विरोधी भएर देखिने गरेको आरोप लगाउँदै, उनले सत्तामा पुग्ने कांग्रेसले मजदुर पक्ष बन्न सक्नुपर्ने सुझाव दिएका थिए। ट्रेड युनियनका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले नीति निर्माण तहसम्म आफूहरुको सहभागिता रहनुपर्ने बताए।
त्यसैगरी, ट्रेड यूनियनका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले पार्टीले श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए। उपाध्यक्ष राईले पार्टीको वैधानिक संरचनामा श्रमिकको भूमिका नदेखिएको हुँदा अब आफ्नो हकअधिकार मागेर नभई संघर्षबाट लिनुपर्ने समय आएको बताए। कार्यक्रममा तत्कालीन पार्टी सभापति सुशील कोइराला र ट्रेड युनियनका अध्यक्ष लक्ष्मणबहादुर बस्नेतबीच श्रमजीवीको हक सुनिश्चितका लागि भएको ७ बुँदे सम्झौता अझैसम्म कार्यान्वयन हुन नसकेको बताइएको छ।
प्रकाशित: २६ कार्तिक २०७८ १२:३६ शुक्रबार