१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुलीमा कर्फ्यू: सत्तारुढ दलबाट सिन्धुलीगढी महोत्सव बहिष्कार

प्रमुख अतिथिको विषयमा विवाद उत्पन्न भएपछि सिन्धुलीमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ। यहाँको कमलामाई नगरपालिकाले सदरमुकामको लोकतान्त्रिक चोक अगाडी निर्माण गरेको विपी र पुष्पलालको शालिक अनावरण गर्न एमालेका महासचिव ईश्वर पोखरेल प्रमुख अतिथिमा आएपछि सत्तारुढ दल र एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो। 

विवाद उत्कर्षमा पुग्ने र तनाव ग्रस्त हुने अवस्था आएपछि प्रमुख जिल्ला अधिकारीले उक्त स्थान आसपासमा निषेज्ञा जारी गरेका हुन्।

बुधबार बिहान ११ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सदरमुकामस्थित माढी बजारको खुल्लामञ्च, स्टलबजार, लोकतान्त्रिक चोकमा कुनैपनि जुलुस सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेका हुन्। 

प्रत्येक वर्ष कार्तिक २४ गते मनाउँदै आएको  सिन्धुलीगढी विजय उत्सव र चिल्ड्रेन पार्कमा निर्माण गरिएको उक्त शालिक अनावरण गर्नका लागि कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले आफ्नै पार्टीको महासचिव बोलाएकाले सरकारमा रहेका मन्त्री तथा सरकारी व्यक्तित्व नै प्रमुख अतिथि हुनुपर्ने भन्दै सत्तारुढ गठबन्धनका दलहरुले अवरोध गरेका हुन्। विवाद भएपछि शालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ भने सिन्धुलीगढी विजय उत्सव समेत सत्तारुढ दलले बहिष्कार गरेका थिए।

सत्तारुढ दलका नेता तथा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले सरकारी पैसा खर्च गरेर गरिने कार्यक्रममा कुनै दलको एउटा नेतालाई ल्याएर पार्टीकरण गर्न लागेकाले आफूहरुले अवरोध गरेको बताए। ‘हामीलाई सरकारी जो सुकै व्यक्तिले उद्घाटन वा प्रमुख आतिथ्यता ग्रहण गरुन् त्यसमा केहि फरक पर्दैन तर एकलौटी पार्टीको महासचिव ल्याएर कार्यक्रम गर्न लागेपछि हामीले त्यसलाई रोकेका छौं’, उनले भने।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शालिक अनावरण गर्ने विषयमा विवाद भएकाले कर्फ्यू आदेश जारी गर्नु परेको बताए। ‘सम्भावित झडपलाई मध्यनजर गरेर कर्फ्यू आदेश गरिएको हो, सिन्धुलीगढीको कार्यक्रम उहाँहरुले गर्नुभएको छ, अनावरण कार्य तत्कालका लागि स्थगित गरिएको छ’, उनले भने।

प्रकाशित: २४ कार्तिक २०७८ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App