coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुक्तकमैया र कमलरीको व्यवस्थापनमा सरकार प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तकमैया र कमलरीको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन्।

मुक्तकमैया, कमलरी र सम्बद्ध सरोकारवालासँग आज मन्त्रालयमा भएको छलफलमा उनले मुक्तकमैया र कमलरीको समस्यालाई प्राथमिकीकरण गरेर तत्कालीन र दीर्घकालीन रुपमा समस्या समाधान गर्ने गरी अगाडि बढ्ने बताइन्। “कमैया र कमलरी मुक्त घोषणा भएर पनि उनीहरुको व्यवस्थापन हुन नसक्दा झनै समस्यामा रहनुपरेको छ, ति समस्यालाई प्राथमिकीकरण गरेर तत्काल हल गर्न सकिने विषय तत्कालै र बिस्तारै गर्दा हुने कुराहरु बिस्तारै हल गरेर समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने छ”, उनले भनिन्।

छलफलमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङबाट आएका कमैया र कमलरीका प्रतिनिधिले कमैया र कमलरीको व्यवस्थापन लामो समयसम्म हुन नसक्दा समस्या बढ्दै गइरहेको र कमलरी थप पीडामा रहेको बताएका थिए। कमलरीको समस्या समाधान नहुँदा, बालविवाहको समस्या बढेको, कमलरीलाई शिक्षाका लागि पर्याप्तरुपमा छात्रवृत्ति नहुँदा बीचमा नै पढाइ छाड्नुपर्ने अवस्था आएको, होस्टेलबाट निस्कने उमेरका कमलरी जग्गा र घर नभएकाले अब कहाँ जाने भन्ने अवस्थामा रहेको उनीहरुको भनाइ थियो।

यसैबीच आजै मन्त्री श्रेष्ठले सुकुम्बासीसँग सम्बद्ध पक्षसँग पनि छलफल गरेकी छन्। सो क्रममा उनले महोत्तरीका रामगोपालपुरको गाउँब्लकमा रहेका लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा वितरण गरिएको र अब देशैभरमा गाउँब्लकमा रहेका समस्या समाधान गर्दै लालपुर्जा वितरणको काम अगाडि बढाइने जानकारी दिइन्।

प्रकाशित: २३ कार्तिक २०७८ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App