२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समन्वय समितिले सरकारको काममा हस्तक्षेप गर्दैनः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।

मंगलबार वरिष्ठ नेता पौडेलले सरकार जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारे। वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए।

वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने बताए। समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरुको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे।

उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफु रहेपनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताए। समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनले प्रष्ट्याए। आगामी महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उनले बताए।

वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा हाल देखा परेका संकट र सकंट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताए।

प्रकाशित: २३ कार्तिक २०७८ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App