१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

क्लिन इनर्जीमा लगानी गर्न सबैभन्दा राम्रो वातावरण नेपालमा छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न अत्यन्तै राम्रो वातावरण रहेको बताएका छन्। विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनले भनाई छ।

स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय  संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन  वेलायत आएका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरुसँगको कुराकानीमा नेपालको लगानीमैत्री वातावरणका बारेमा प्रष्ट्याएका हुन्।

वातावरणमैत्री हाइड्रोपावरमा लगानी गर्नका लागि नेपाल सबैभन्दा उचित स्थान भएको बताउँदै उनले गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ता समक्ष निश्चिन्त भएर लगानी गर्न आह्वान पनि गरेका थिए। पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युतलगायतका क्लिन इनर्जीको प्रयोग गरेर दीगो विकासमा टेवा पुर्याउनु पर्ने पनि उनले बताए।

‘इच्छुक लगानीकर्ताहरुका लागि नेपालमा लगानीको वातावरण अत्यन्तै राम्रो छ। जलविद्युतको उत्पादन तथा प्रयोग बढाउँदै अब उर्जाका लागि क्लिन इनर्जीको प्रयोग गर्नुपर्छ। इलेक्ट्रिक कारको प्रयोगलाई प्रोत्साहन गर्नेछौं, खाना पकाउनका लागि पनि ग्यासको सट्टा विजुलीकै प्रयोग गर्दै जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा हाइड्रोपावरमा लगानी गर्न सबैलाई स्वागत छ। एनआरएन वा विदेशी लगानीकर्ता जो आउनुभए पनि लगानीको सुरक्षाको सुनिश्चित गर्ने प्रतिबद्धता गर्दछु।’

देशमा स्थायी सरकार नहुँदा लगानीकर्ताहरु निश्चिन्त भएर लगानी गर्न नसकेको भन्ने जिज्ञासामा प्रधानमन्त्री देउवाले लगानीको सुरक्षाको सुनिश्चितता सरकारले नभएर कानूनले गर्ने बताएका थिए। ‘गैरआवासीय नेपाली वा वैदेशिक लगानीकर्ता जोसुकै नेपालमा लगानी गर्न आउनुस्, सुरक्षाको ग्यारेन्टी हुनेछ। लगानीको सुरक्षा हुने वातावरण सरकारले होइन, कानूनले बनाउने हो। लगानीकर्ताहरु निश्चिन्त हुनसक्ने बलियो कानून हामीले बनाएका छौं। जुनसुकै सरकार रहोस् लगानीको सुरक्षा हुने ग्यारेन्टी त्यही कानूनले गर्छ,’ देउवाले भने।

लण्डनस्थित नेपाली दुतावासमा आयोजित अन्तक्र्रिया कार्यक्रममा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनरत गोर्खा सैनिकहरुप्रति सद्भाव पनि व्यक्त गरेका थिए। विश्वयुद्धमा शत्रुसँग लडेका गोर्खा सैनिकहरु हाल आफ्नै अधिकारका लागि लडिरहनु परेकोमा खेद व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनमा ऐक्यबद्धता पनि प्रकट गरेका थिए।

यस्तै, विदेशमा बसेर पनि गैरआवासीय नेपालीहरुले नेपालप्रति देखाएको असीम मायाका लागि प्रधानमन्त्री देउवाले आभार समेत व्यक्त गरेका छन्। साथै, नेपालको नागरिकता लिन चाहने गैरआवासीय नेपालीहरुलाई सहजीकरण गर्ने पनि उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल कोप–२६ सम्मेलनमा सहभागी भएर कात्तिक १७ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १५ कार्तिक २०७८ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App