coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णालीमा विदा हुँदै तीन मन्त्री: कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्यो

फ्लोरक्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएवापत मन्त्री बनेका तत्कालीन नेकपा एमालेका तीन सांसदको पदावधि सकिएको छ। संविधानको व्यवस्था अनुसार स्वतः पदमुक्त भएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीनै जना अहिले नेकपा समाजवादीमा आवद्ध छन्।

सर्वोच्च अदालतले तत्कालीन नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रमै फर्काइदिएपछि कर्णालीमा सरकार फेरवदलको खेल सुरु भएको थियो। एमालेले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव संसदमा दर्ता गरेपछि उनले बैशाख ३ गते विश्वासको मत लिएका थिए। विश्वासको मत लिनु अघिल्लो दिन नेपाली कांग्रेस, तत्कालीन एमालेको माधवकुमार नेपाल समूह र माओवादी केन्द्रबीच ११ बुँदे सहमति भएको थियो। उक्त समिति अनुसार तत्कालीन नेपाल समूहका चार सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइदिएका थिए।

लगत्तै मुख्यमन्त्री शाहीले फ्लोरक्रस गरेका चार मध्ये अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्री, नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए। एमालेले फ्लोरक्रस गर्ने चार जनालाई कारवाही गरेपछि बैशाख १६ गते गैरसांसदको रुपमा पुनः उनीहरुको नियुक्ती भएको थियो।

‘तत्कालीन अवस्थामा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधवकुमार नेपाल समूहबीच भएको ११ बुँदे लिखित संझौता अनुसार हामी मन्त्री नियुक्त भएका थियौं,’ भौतिक पूर्वाधार मन्त्री थापाले भने, ‘संबैधानिक व्यवस्था अनुसार पदावधि सकिनु एक दिनअघि राजीनामा दिएर हामी विदा हुँदैछौं।’ समाजवादीका कर्णाली प्रदेश अध्यक्षसमेत रहेका थापाले ११ बुँदे सहमति अनुसार अव कांग्रेस नेतृत्वमा कर्णालीमा सरकार गठन हुने बताए। ११ बुँदे सहमतिमा फ्लोरक्रस गरेका सांसदहरुलाई एमालेले कारवाही नगरे असारमा र गरेको खण्डमा छ महिनापछि मुख्यमन्त्रीको नेतृत्व कांग्रेसलाई दिने सहमति भएको थियो।

पार्टीको प्रदेश अध्यक्षको हैसियतले पनि आफू गत बैशाखमा भएको सहमति कार्यान्वयनमा लाग्ने थापाले बताए। ‘सहमति अनुसार हामीले फ्लोरक्रस गर्‍यौं, छ महिनासम्म मन्त्री पनि भयौं,’ उनले भने, ‘अव कांग्रेस नेतृत्वमा सरकार गठनको समय आएको छ, त्यो सहमति कार्यान्वयन हुन्छ भन्नेमा म ढुक्क छु।’ उनले गठवन्धमा सहभागी दलहरुबीच बैशाख २ गतेको सहमति कार्यान्वयनका लागि आफू र आफ्नो पार्टीले भूमिका खेल्ने बताए।

प्रकाशित: १५ कार्तिक २०७८ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App