१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ मा आलोपालो गर्ने कुरा छैन : स्वास्थ्य राज्यमन्त्री खापुङ

नेकपा (एकीकृत समाजवादी)का नेता एवं संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले प्रदेश नं १ मा अब राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्ने दाबी गरे। साथै उनले कसैसँग पनि मुख्यमन्त्रीमा आलोपालो गर्ने कुरा नभएको बताए।

गृहजिल्ला तेह्रथुम जाने क्रममा आइतबार दिउँसो धरान उपमहानगरपालिकामा राजनीतिक दल तथा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन्। उनले सोमबार मुख्यमन्त्री भीम आचार्यको अविश्वासको प्रस्ताव फेल हुने पनि जिकिर गरे। उनले भने, ‘विश्वासको मतको प्रस्ताव फेला हुन्छ, र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ। नयाँ मुख्यमन्त्री हाम्रो पार्टीबाट राजेन्द्र राई हुन्छन्।’

प्रदेश नं १ मा सरकारको नेतृत्वबारे विपक्षी गठनबन्धनबीचमा विवाद छ। गठबन्धनका शीर्ष नेताहरुबीच १ नम्बर प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ। तर, प्रदेशमा भने नेपाली कांग्रेसका नेता, सांसदहरु यो सहमतिप्रति असन्तुष्ट छन्।

गण्डकी प्रदेशमा पनि आलोपालो गर्ने सहमति भएको भन्दै उनीहरुले प्रदेश नं १ मा पनि मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने बताउँदै आएका छन्।  

एकीकृत समाजवादीका नेतासमेत रहेका स्वास्थ्य राज्यमन्त्री खापुङले भने शीर्ष नेताहरुबीचमा पनि मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएकोबारे आफूलाई जानकारी नै नभएको बताए। उनले भने, ‘प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा सरकार बन्छ, आलोपालो गर्ने भन्ने कुरा मलाई थाहा छैन। शीर्ष नेताहरुबीच सहमति छ भने त्यो छुट्टै कुरा हो, बाहिर आएको छैन।’

प्रकाशित: १४ कार्तिक २०७८ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App