१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएपनि पास हुन्नः कांग्रेस नेता विश्वकर्मा

नेपालगन्जमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मा। तस्बिरः अर्जुन/नागरिक

नेपाली कांग्रेसका प्रभावशाली नेता मिनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि पास नहुने बताएका छन्। न्यायालयभित्रको विवादमा राजनीतिक दल जोडिन नहुने उनको भनाइ छ।

नेपाल दलित संघ बाँकेले शुक्रबार नेपालगन्जमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका उनले स्वतन्त्र न्यायालयको विवादमा नेपाली कांग्रेस तटस्थ रहेको बताए। ‘न्यायालयको विषयमा कांग्रेस तटस्थ छ, संसदमा हाम्रो बहुमत पनि छैन,’ कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘यदी प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भइहाले पनि पास हुने अवस्था छैन।’

अर्को प्रसंगमा नेता विश्वकर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेस ठूलो शक्ति हुने निश्चित रहेको बताए। तर, चुनाव जितिन्छ भनेर बागी उम्मेदवार नउठ्न कार्यकर्तालाई सचेत गराए। चुनाव भनेको विचारधारा नभई रणनीति भएको उनको भनाइ छ। ‘चुनाव भनेको विचारधारा होइन, रणनीति हो, प्रविधि हो, आदर्शका कुरा गरेर चुनाव जितिँदैन, त्यसैले आसन्न चुनावमा रणनीति बनाउनुस्,’ नेता विश्वकर्माले भने। आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले जित्ने ठाउँमा एक्लै र नसक्ने ठाउँमा मिलेर लड्नुपर्ने धारणा राखे।

‘कांग्रेसले जित्ने आधार भनेकै एक भएर अघि बढ्नु हो, तपाईहरु एकले अर्कालाई हराउने भन्दा पनि एकतावद्ध भएर चुनावमा होमिनुपर्छ,’ उनले भने।

कांग्रेसका नेताले टिकटकै लागि लड्ने मानसिकता त्याग्नुपर्ने बताए। नेपाली कांग्रेसको सरकार आएपछि दलितका मुद्दा हेर्नलाई देशभर ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दलित हेल्प डेस्क स्थापना गर्न सफल भएको बताए। यस्तै प्रहरी संगठनभित्र मर्यादित शब्द बोल्नुपर्ने कुरालाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको र थरका नामबाट पनि नागरिकता लिन पाउने व्यवस्था ल्याइएको बताए।

नेपाल दलित संघका केन्द्रीय अध्यक्ष समेत रहेका विश्वकर्माले भने, ‘जातीय विभेद गरेमा तत्काल कारबाही हुने नयाँ व्यवस्था ल्याइएको छ।’ पार्टीको आसन्न १४ औं महाधिवेशनमा दलित, जनजाती, आदिवासी, खस आर्य, मधेशी, मुस्लिम, पिछडिएका समुदायको उल्लेख्य प्रतिनिधित्व गराउनुपर्ने उनले बताए।

प्रकाशित: १२ कार्तिक २०७८ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App