समय हो भिम शमसेरको पालाको। त्यतिबेला फुटबल उचाईमा थियो, काठमाडौ खाल्डोभित्र। खेल्ने निश्चित मैदान भने थिएनन्। बसन्त शमसेरको अगुवाईमा महावीर क्लब, नरशमसेरको जावलाखेल, नरसिंहहरुको ठमेल, न्युरोडे ठिटाहरुको फ्रेन्डस युनियन र गोपाल शमसेर र धैर्य शमसेरको टंगाल टोली निकै चर्चामा थियो।
मेरो जन्म १९८० साल डिल्लीबजारमा भयो। डिल्लीबजार खेलकुदको उर्बर ठाउँनै मानिन्थ्यो, त्यतिबेला। सानोमा मेरो समय त्यसरी नै गुजि्रयो, जसरी अन्य डिल्लीबजारे ठिटाहरुको। हाल रसियन कल्चर भएको ठाउँमा ठूलो घर थियो हाम्रो। त्यही भित्र पोल भल्ट, छेलो, कपर्दी, ब्याडमिन्टन र फुटबल खेल्दै बित्यो।
महाबीरको खेल भएको दिन मलगायत डिल्लीबजारका थुप्रै फुच्चेहरुको घरबाट लुकेर खेल हेर्न जाने बानी नै परिसकेको थियो। त्यतिबेलाको फुटबल रोचक मात्र होइन, खतरनाक पनि हुन्थ्यो। स्थानीय टोली 'बाजी' खेल्थे। 'बाजी' हुन्थ्यो, हाँस, बोका, खसी र बदेलको। त्यतिबेला हाँसको दाम १ रुपैया, बोका ५ रुपैया, खसी २० रुपैया र ५ मोहर (२ रुपैया ५० पैसा) मा एक धार्नी बदेलको मासु आउँथ्यो। जावलाखेलको खेल्ने ठाउँ थियो, लगनखेलस्थित आर्मी मैदान। डिल्लीबजारे त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकैको खुला मैदान र शहरभित्रका केटाहरु (न्युरोड टिम स्थापना हुनुअघि) फ्रेन्डस युनियनको छाउनीस्थित मैदानमा खेल्ने गर्दथे। यी तीनै टोलीले विरोधी क्लबलाई आफ्नो यही अनुकुलको मैदानमा खेल्न निमन्त्रणा दिने गर्दथे।
यस्तै एक पल्ट १९९५ सालतिर फ्रेन्डस युनियनले महाबीरलाई छाउनीमा 'बाजी' खेल्ने निमन्त्रणा दियो। यो खेल हेर्न मलगायत डिल्लीबजारका थुप्रै ठिटा छाउनी पुग्यौ। त्यतिबेला निकै फुच्चे थिए म। त्यसैले मलगायत मेरो उमेरका केटाहरुको काम हुन्थ्यो, खेलाडीको लुगा कुर्ने। दुभार्ग्य त्यो खेल हामीले हार्यो। त्यसपछि सुरु भयो बबण्डर। हारको झोकमा महाबीर क्लबका समर्थकहरुले आफ्नै टोलीमाथी ढुङ्गा बर्षाउन सुरु गरे। थुप्रै खेलाडी घाइते भए। हामीले लुकेर ज्यान जोगायौ।
त्यतिबेला यस्ता घटनालाई सामान्य मानिन्थ्यो। अहिले म ८६ बर्ष टेकिसके। तर, त्यो घटना अहिले सम्झदा अच्चम लाग्छ। त्यत्रो ढुङ्गा खादा पनि कोही खेलाडी मरेनन्। अझै उल्टो त्यही खेलाडी अर्को खेल खेल्न पनि तयार हुन्थे।
त्यतिबेला फुटबल भनेपछि टोलनै सुन्य हुन्थ्यो। महाबीरले छाउनीमा पराजय भोग्यो भने यस टोलीका खेलाडीलाई आफ्नै समर्थकले ....सम्म ढुंगा हिर्काउदै ल्याउँथे। त्यस्तै, जावलाखेलको टोली एयरपोर्टमा हार्यो भने यो टोलीका खेलाडीलाई पनि समर्थकले मैतीदेबीको ओरालोसम्म ढुंगाले हिर्काउदै ल्याउने गर्दथे। शहरको टोली लगनखेलको आर्मी मैदानमा हार्यो भने उनीहरुलाई पनि समर्थकहरुले पुल्चोकस्थित हिमालयन होटलको ओरालोसम्म ढुङ्गाले हानेर खेद्ने गर्दथे।
यस्ता थुप्रै घटनाका बीच म आकर्षित भए, पोलो खेलतर्फ। सन् १९४५ तिर मीनभवनस्थित मीन शमसेरको भवनमा पोलो खेलिन्थ्यो। त्यतिबेला ठूलो कम्पाउन्डै थियो मीनभवनमा। मीन शमसेर पोलोका सौखिन खेलाडी थिए। त्यसैले उनी, म, त्यही घोडा हेर्न राखिएकन बच्चु सवार, लोकविक्रम शाह , गुण शमसेर, रुप विक्रम र शशी शमसेर मीन भवन भित्रै पोलो खेल्थ्यो। सुरुमा पोलो खेल्ने मैदान त्यति राम्रो थिएन्। तर, पछि खेल्दा खेल्दै मैदानै सम्म भयो। करिब २ बर्ष पोलो खेलमा रमियो। त्यसपछि भारतको देहरादुन लागे, 'फरेस्ट्री' अध्ययनका लागि। त्यहाँ कलेजको बार्षिक उत्सवमा खेल्ने पर्ने कडा नियम थियो। सवै विद्यार्थीले बर्षको साढे आठ माइल अनिवार्य दौडिनै पर्दथ्यो। यही अध्ययनरत छँदा एउटा रोचक घटना भयो। कलेजको निर्देशकमा अन्सारी थरका एक मुसलमान नियुक्त भए। उनी नियुक्त हुनुअघि कलेजमा हिन्दु र मुसलमान दुवै खेलाडीको समान बर्चश्व थियो। तर, उनले सवै हिन्दुलाई टोलीबाट हटाइदिए। तर, मलाई भने कलेजको ब्याडमिन्टन टोलीको क्याप्टेन नियुक्त गरियो। उनलाई भ्रम परेछ क्यार। मेरो थर शाह। उनले सम्भि्कएछन, मुसलमान।
कलेजमै हुँदा अर्को एउटा घटना भयो। छुटिको समय साथीहरुसंग फिल्म हेर्न निस्किदै थिए। अगाडि देखे, कलेजका केही खेलाडी चार फिटमा हाइजम्प गरिरहेको। उनीहरुलाई देखेर उदेक लाग्यो। काठमाडौमा घरमा त्यो भन्दा माथी जम्प हानीरहेको बानी। सिधै मैदानमा पसे। केटाहरुलाई जम्प ५ फिट बनाउन आदेश दिए। र, एकैपल्ट पुरा गरे जम्प।
सुरुमा मलाई त्यहा केटाहरु मात्र छन भन्ने लागेको थियो। तर, कुनामा कलेजका एक 'ट्रेनर' मज्जाले मेरो गतिविधि नियालिरहेका रहेछन्। त्यसपछि म भागी हाले। पछि कलेज प्रतियोगिताका लागि भित्तामा लिस्ट टाँसियो। यसो हेरेको मेरो नाम त हर्डलमा पो रहेछ। सत्य, त्यतिबेला सम्म मलाई हर्डलको नियम पनि थाहा थिएन। सायद उसले त्यो दिनको रिस फेरेछ क्यार। खेल हारे।
सन् १९४९ मा नेपाल फर्किदा काठमाडौंमा खेलकुद गतिविधि ठप्प थियो। प्रधानमन्त्री थिए, मोहन शमसेर। सायद मोहन शमसेरको छोराहरु नखेल्ने भएका कारण पनि त्यतिबेला खेलकुदप्रति त्यति सकारात्मक थिएनन, मोहन शमसेर। प्रजातन्त्र स्थापनापछि २००८ साल हनुमानढोकास्थित नासलचोकमा सम्पन्न ब्याडमिन्टनको पहिलो राष्ट्रिय प्रतियोगितामा भने सामेल भए। पछिसम्म ब्याडमिन्टनमा सक्रिय रहे। ब्याडमिन्टनमा मसंग एउटा 'ब्याड लक' सधै झुन्डिरहयो। प्रायः सेमिफाइनलसम्म पुगेर हार्ने गर्दथे।
खेलकुदमा सक्रिय भएको नाताले २०३१ सालमा विराटनगरमा आयोजना भएको पहिलो शुभराज्याभिषेक प्रतियोगिताअर्न्तगत टेबल टेनिसको घटना अझैसम्म याद छ मलाई। त्यतिबेला विराटनगरमा अञ्चलाधीसको हैसियतले सक्रिय थिए म। बीरेन्द्र सरकारको राज्याभिषेकको अवसर पारेर आयोजना गरिएको यो प्रतियोगिता विभिन्न जिल्लामा आयोजना भएको थियो। त्यसैले सवैतिरको सेड्युल मिलाउन ५ दिन भित्रै टेबल टेनिस सिध्याउनु पर्ने बाध्यता थियो। यो खेलको प्रतियोगिता सकिदा राती परिसकेको थियो। पुरस्कार वितरणका मुख्य अतिथि थिए, पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला। उहाँलाई पुरस्कार वितरणका लागि घरमा बोलाउन जादा रातीको १२ बजिसकेको थियो। त्यतिबेला विराटनगरमा कुनै विशेष कार्यक्रम आयोजना हुँदा दुईमध्ये एकजना व्यक्तिलाई बोलाउनु पर्ने बाध्यता थियो। ती थिए, भुपालमान सिंह कार्की अथवा मातृकाप्रसाद कोइराला।
( पूर्व अञ्चलाधीस बीरेन्द्रबहादुर शाह 'लव राजा'संग खेलकुदको विषयमा नागरिकका नबीन अर्यालले गरेको बार्तामा आधारित। )
प्रकाशित: २८ कार्तिक २०६६ ००:३५ शनिबार





