१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाढी–पहिरोपीडितसँग प्रधानमन्त्रीः ‘राहतको थप कार्यक्रम ल्याउँछौँ’

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरो पीडितका लागि सरकारले थप राहत–सहयोग कार्यक्रम घोषणा गर्ने बताएका छन्। पीडित र स्थानीय सरोकारवालासँगको छलफलपछि उनले तत्काल मन्त्रिपरिषद् बैठक बसेर राहत तथा सहयोगको कार्यक्रम घोषणा गर्ने बताएका हुन्।

इलाम र पाँचथरका बाढी–पहिरो प्रभावित क्षेत्रको हवाई अवलोकनपछि प्रधानमन्त्रीले पीडितका लागि तत्कालीन र दीर्घकालीन राहत कार्यक्रम ल्याउने बताए।

आइतबार प्रधानमन्त्री देउवाले इलामको माङ्सेबुङ, फाकफोकथुम र पाँचथरका मिक्लाजुङ तथा फाल्गुनन्द गाउँपालिकामा बाढी–पहिरोले गरेको क्षति अवलोकन गरेका थिए। उनले इलामको चिसोपानी र इलाम–पाँचथरको सीमावर्ती राँकेमा भने पीडितसँग छलफल गरेका हुन्।  

राँकेमा आयोजित कार्यक्रममा इलाम र पाँचथरका सिडिओहरूले प्रधानमन्त्रीलाई दुवै जिल्लामा बाढी–पहिरोले गरेको क्षतिबारे ब्रिफिङ गरेका थिए। उनीहरूको ब्रिफिङ सुनेपछि प्रम देउवाले बाढी–पहिरोले पाँचथर र इलामसहित पूर्वी जिल्लाहरूमा धेरै क्षति बताउँदै राहत कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन्। ‘सरकारले यसअघि पनि पीडितका लागि राहत घोषणा गरेको थियो,’ उनले भने, ‘अब काठमाडौं गएर थप राहत र सहयोगको कार्यक्रम ल्याउँछौं।’  

देउवाले पीडितको सहयोगका लागि तुरुन्त आवश्यक पर्ने राहत र अन्य भौतिक क्षतिसमेतको पुनर्निर्माणका लागि योजनाबद्ध कार्यक्रम ल्याउने बताए। ‘यो दुःखको घडीमा सरकारले पीडितलाई सहयोग गर्नुलाई प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘मानवीय र अन्य क्षतिको उद्धारका लागि सरकार जनतासँगै छ।’

त्यस अवसरमा पीडितका तर्फबाट स्थानीय राजनीतिक दल र संघ–संस्थाले पीडितलाई सहयोग गर्न आग्रहसहित ज्ञापनपत्र बुझाए। स्थानीय सरोकारवालाले सरकारले विस्थापितको दीगो व्यवस्थापन गर्न प्रम देउवासँग आग्रह गरे।

कात्तिक १ रातिदेखि ३ दिनसम्म लगातारको वर्षापछि गएको बाढी–पहिरोले इलाममा १४ र पाँचथरमा ३० जनाको ज्यान गएको छ। इलाममा १ बेपत्ता छन् भने ५ घाइते छन्। प्रहरीले ९ जनाको उद्धार गरेको छ। पाँचथरमा ४ बेपत्ता र १४ घाइते छन्। इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत २ स्वास्थ्यकर्मी पाँचथरको पहिरोमा बेपत्ता छन्।  

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार इलाममा १९ घर पूर्ण र २२ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। १२ गोठ, ११ भान्साघर, एउटा शौचालय, ३ खोर, २ पानीका मुहान र एउटा प्रहरी कार्यालयका बाढी–पहिरोले क्षति गरेको छ। २ सय ८८ विद्युत् पोल क्षतिग्रस्त हुँदा १ करोड ४१ लाख रुपैयाँको क्षति अनुमान छ। खानेपानीका मुहानमा बाढी–पहिरोले १ करोड २९ लाख रुपैयाँको क्षति गरेको छ। ४ सय ८६ पशुपन्छी मरेर क्षति हुँदा किसानको ६७ लाख ९५ हजार रुपैयाँ नोक्सान भएको छ। बालीनालीमा १ करोड २७ लाख रुपैयाँको क्षति भएको तथ्यांक संकलन भएको सिडिओ ध्रुवबहादुर खड्काले बताए।  

इलाममा पर्ने मेची राजमार्गको ९० स्थानमा पहिरो झरेर क्षति गरेको बताए। उनका अनुसार ४७.७५ हेक्टर वनमा क्षति पुगेको छ भने १ हजार ५ सय ८६ रुख ढलेका छन्। ‘तर, विवरण आउनेक्रम अहिले पनि जारी नै छ,’ उनले भने, ‘कतिपय स्थानमा फोन सम्पर्क हुन नसकेर विवरण संकलनमा समस्या भइरहेको छ।’ पाँचथरमा पर्ने मेची राजमार्गका १ सय २५ स्थानमा पहिरो गएको छ।

प्रकाशित: ७ कार्तिक २०७८ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App