५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानमा एमालेको ६ वटा वडामा छुट्टाछुट्टै वडा कमिटी घोषणा

धरानको वडा नं १५ मा संयुक्त आयोजना भएको वडा अधिवेशनको उद्घाटन सत्र। तस्बिर: नागरिक

नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटीको वडा अधिवेशनमा अधिकांश वडामा सहमति भएपनि ६ वटा वडामा छुट्टाछुट्टै कमिटी बनेको छ।

धरानको २० वटा वडामध्ये ६ वटा वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग-अलग अधिवेशन र कमिटी घोषणा भएको हो। नेताहरुका अनुसार वडा नं १, ५, ८, १० र ११ मा अलग अलगै वडा अधिवेशन र कमिटी घोषणा भएको छ भने वडा नं १७ मा उद्घाटन सत्र एकै ठाउँमा भएपनि बन्द सत्रमा विवाद भएको थियो।

बन्द सत्रको क्रममा जेठ २ अघिको कमिटी पक्षका संगठीत सदस्यहरुले हल बहिष्कार गरेर छुट्टै कमिटी घोषणा गरेको छ। मजदुर शाखाको अधिवेशन भने दुवै पक्षले मिलेर गरेका छन्।

धरानमा जेठ २ अघिको कमिटी र संस्थापन पक्षले गठन गरेको कमिटी क्रियाशील रहेको छ। वडा अधिवेशन नजिकिँदै गर्दा यी दुई कमिटीबीच अधिवेशन मिलेर गर्ने कि अलग अलग गर्ने भन्ने चर्को विवाद उत्पन्न भएको थियो। नेताहरुले मिलेर वडा अधिवेशन गर्नेबारे पटक पटक छलफलमा बसे पनि ५ वटा वडामा सहमति जुट्न नसकेपछि अलग्गै अधिवेशन र कमिटी घोषणा भएको हो। यस्तै, एउटा वडा मिलेरै उद्घाटन सत्र भएपनि अन्त्यमा दुवै पक्षले अलग्गै कमिटी घोषणा गरेको हो।

अलग अलग अधिवेशन र कमिटी घोषणाबारे दुवै पक्षको नगर नेतृत्वले एकले अर्कोलाई अवैधानिक करार गरिरहेको छ। संस्थापन पक्षका अध्यक्ष हर्कजंग एभेङले केही वडामा जेठ २ अघिको कमिटीका न्युन सदस्यहरु सहभागी नभएको र उनीहरुले अलगै कमिटी घोषणा गरेपनि वैधानिकता नहुने बताए। ‘अलग्गै अधिवेशन भएको होइन, जेठ २ को कमिटी भन्ने साथीहरु अधिवेशनमा सहभागी नभएको हो,’ उनले भने,‘अत्यधिक बहुमत सदस्यहरुको उपस्थितिमा भएको अधिवेशनले वैधता पाउँछ, ८, १० जनाको भेलाले कसरी अधिवशेनको मान्यता पाउछ? त्यसको अर्थ नै छैन।’

जेठ २ अघिको कमिटीका अध्यक्ष नारायण सुवेदी भने पनि अधिकांश वडामा मिलेरै अधिवेशन भए पनि केही वडामा नमिलेको कारण अलग अलग भएको बताए। उनले जेठ २ अघिको वडा कमिटी वैधानिक भएको र सोही कमिटीको अधिवेशन वैध हुने दाबी गरे। ‘जेठ २ को कमिटी वैधानिक हो, र त्यो कमिटीको अधिवेशन वैध हो। अरु साथीहरुले सहमति भएको वडामा पनि विवाद गर्न खोजिरहेको छ,’ उनले भने।

प्रकाशित: ६ कार्तिक २०७८ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App