२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जारी गतिरोध सम्वादको माध्यमबाट हल हुने बताएका छन्। संसद अवरोध हटाउन विपक्षीसँग समझदारीको प्रयास भइरहेको समेत उनले बताए।

चौतारा साँगाचोकगढी नगरापलिकास्थित गृहगाउँको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९ औँ वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै सभामुख सापकोटाले भने, ‘संसद अवरुद्ध हुनु राष्ट्रिय संकट हो। यो समस्याको हल गर्न समझदारीको लागि प्रयास भइरहेको छ। विपक्षीसँग विभिन्न माध्यमबाट छलफल भइरहेको छ।’

एमालेका १४ सांसदलाई कार्वाही नगरेको विषयमा उसले प्रतिनिधिसभा लामो समयदेखि अवरोध गरिरहेको छ। यसतर्फ संकेत गर्दै सापकोटाले आफूले कसैको दबाब र प्रभावमा निर्णय नगर्ने स्पष्ट पारे। ‘कसैको दबाबमा निर्णय नगर्न आफूले आफैँलाई तयार पारेको छु,’ प्रष्टोक्ती दिँदै उनले भने, ‘सरकारको तर्फबाट प्रधानमन्त्री र संसदको नेतृत्व सभामुखबाट संसद अवरोध हटाउने प्रयास जारी छ। वाद, बिवाद र संवादको माध्यमले यो गतिरोध हट्ने विश्वास छ।’

सभामुख सापकोटाले एकै वर्ष दुई चोटी संसद विघटन हुनुलाई राष्ट्रिय संकटको संज्ञा दिए। विश्वमै एकै वर्ष संसद बिघटन कतै नभएको उल्लेख गर्दै उनले भने, ‘यो दुर्भाग्य नेपालमा मेरै कार्यकालमा भयो।’ संसद बिघटन परिघटनाले आफूलाई विश्वविद्यालय धाउँदासमेत प्राप्त नहुने ज्ञान दिएको सापकोटाको भनाइ थियो। घुमाउरो ढंगमा संसद बिघटन गर्नेलाई मुर्खको संज्ञा दिँदै उनले थपे, ‘यदि, कसैलाई म मुर्ख छु भन्ने लाग्छ भने उसले ज्ञान लिन थाल्छ र विद्धान बन्छ। तर कसैले म विद्धान भइसकेँ भन्ने सोच्छ भने उसले मुर्खता गर्न थाल्छ ।’

संसद पुनःस्थापनापछि पनि मुलुकको राष्ट्रिय राजनीति पेचिलोकै अवस्थामा रहेको उनको तर्क छ। यही पेचिलो राजनीतिकै कारण सरकारले पूर्णता पाउन तीन महिना लागेको प्रसंग जोड्दै सभामुख सापकोटाले भने, ‘अब भने बिस्तारै राजनीतिक गतिरोधको समस्या हल हुँदै जाने ठानेको छु।’

प्रकाशित: ३ कार्तिक २०७८ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App