२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै छातामुनि

संघीय संसद्का दुवै सदनबाट पारित भएर आएको सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको छ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

विधेयक प्रमाणीकरणसँगै सार्वजनिक सेवा प्रसारण ऐन, २०७७ को रूप लिएको छ। यो सँगै दुईवटा सरकारी प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गर्ने बाटो खुलेको छ।

यो ऐन प्रमाणीकरणसँगै कानुनी रुपमा दुवै संस्था एउटै छातामुनी आएका छन्। प्रमाणीकरण भएको यो ऐनको परिच्छेद २, दफा ३ को उपदफा ३ ले ‘यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण गरिनेछ’ भनेको छ।

यो विधेयकलाई २०७७ असार १५ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारीमा रहेका डा. युवराज खतिवडाले राष्ट्रिय सभामा पेस गरेका थिए। यो विधेयकमाथि लामो छलफलपछि गत भदौमा संघीय संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए।

प्रकाशित: २२ आश्विन २०८१ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App