१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री भएको तेस्रो दिनमै राजीनामा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आइतबार पदबाट राजीनामा दिएका छन्। मन्त्री भएको तेस्रो दिनमा हमालले दिएको राजीनामा स्वीकृत भएको छ। उनले शुक्रबार मन्त्री पदको शपथ लिएका थिए।  

आफूले पार्टीमा योगदान पुर्‍याएका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको दाबी गर्दै आएका हमालले आइतबार बिहान राजीनामा दिएका हुन्। शनिबार साँझ नागरिकसँगको अन्तर्वार्तामा हमालले आफूले जिम्मेवारी पाएको मन्त्रालय कुशलतापूर्वक हाँक्ने र रुग्ण उद्योग तथा औद्योगिक विकासका लागि काम गर्ने बताएका थिए। अन्तर्वार्तामा उनले पार्टीमा योगदान पुर्‍याएका कारण आफूलाई प्रधानमन्त्रीले मन्त्री बनाएको बताएका थिए।  

हमाललाई मन्त्री बनाएको विषयमा प्रश्न उठेपछि राजीनामा दिन प्रधानमन्त्री देउवाले अनुरोध गरेको उनको स्वकीय सचिवालयको दाबी छ।

हमालले भने आफ्नै विवेकले राजीनामा दिएको दाबी गरेका छन्। उनले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। ‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको मलाई अनावश्यक विवादमा तानियो,’ उनले भने, ‘निष्ठाको राजनीति गरेकाले मन्त्री नहुँदैमा केही फरक पर्दैन भनेर राजीनामा दिएँ।’ 

आफूलाई विवादमा तानेर बदनाम गर्न खोजिएको उनको गुनासो छ। उनले राजीनामाका लागि पार्टीपंक्तिबाट कुनै पनि दबाब नआएको बताए।

प्रकाशित: २५ आश्विन २०७८ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App