१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अखिल छैठौँको राष्ट्रिय सम्मेलनमा विवाद

आधिकारिकतामा आ-आफ्नै दाबी

अनेरास्ववियु (छैठौँ) को २२ औँ राष्ट्रिय सम्मेलनपश्चात् धनगढीमा गरेको पत्रकार सम्मेलनको घोषणा सभा। तस्बिरः पुष्पराज/नागरिक

सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) २२औँ राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ। केन्द्रीय समितिका महासचिव महेशराज जोशीको नेतृत्वमा कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन सकिएसँगै केन्द्रीय अध्यक्ष विमल पोख्रेलको नेतृत्वमा बुटवलमा सम्मेलन भइरहेको छ।

निवर्तमान महासचिव जोशीको नेतृत्वमा धनगढीमा भएको राष्ट्रिय सम्मेलनले महेशराज जोशीको अध्यक्षतामा उमेश कँडेल महासचिव रहेको ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ भने उता निवर्तमान अध्यक्ष पोख्रेलको नेतृत्वको बुटवलको सम्मेलनले देवेन्द्र कुँवरको अध्यक्षतामा सुवाश जिसी महासचिव रहेको ३५ सदस्यीय समिति चयन गरेको बताइएको छ।

अखिल छैठौँ केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष जोशीले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरेका थिए। ‘हामीले २३ गते धनगढीमा गरेको राष्ट्रिय सम्मेलनमा देशभरका १ सय २ जना प्रतिनिधिको उपस्थितिमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गर्‍यौँ,’ अध्यक्ष जोशीले भने,‘देशभरका साथीहरुको उपस्थितिमा धनगढीमा गरिएको २२ औँ सम्मेलन नै आधिकारिक हो। हाम्रोमा अध्यक्ष पोख्रेल उपस्थित हुनुभएन।’  

यसअघि गत साउन १९ गते केन्द्रीय समितिको बैठकले पाल्पामा २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताउँदै जोशीले भने,‘अध्यक्ष पोख्रेलले गुटगत राजनीति गर्न खोजेर केन्द्रीय कमिटीलाई थाहै नदिई स्थान परिवर्तन गर्ने, जिल्ला सम्मेलनबाट निर्वाचित समितिलाई छलेर सम्मेलनमा अवैधानिक व्यक्तिहरुलाई सम्मेलनको प्रतिनिधि बनाएको विषयलाई हामीले विरोध गरेर धनगढीमा सम्मेलन गरेका हौँ।’ उता बुटवलमा अहिले अखिल छैठौँको राष्ट्रिय सम्मेलन भइरहेको निवर्तमान अध्यक्ष पोख्रेलले बताए। उनले भने,‘बुटवलमा २२औँ राष्ट्रिय सम्मेलन भइरहेको छ। पदाधिकारी पनि चयन भइसकेका छन्, घोषणा गर्न मात्रै बाँकी छ। तर, धनगढीमा के भएको छ त्यो थाहा भएन, हाम्रो महासचिव बुटवलको कार्यक्रममा अनुउपस्थित हुनुहुन्छ।’

यसअघि भदौ ८ र ९ गते सुदूरपश्चिम प्रदेशमा र भदौ २८ गते प्रदेश नम्बर २ मा समेत राष्ट्रिय जनमोर्चाको समानान्तर प्रदेश कमिटी गठन भइसकेका छन्। जनमोर्चाको समानान्तर कमिटी गठन भएसँगै फुटको संघारमा पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन्। पार्टीको केन्द्रीय तहले विधि विधानविपरीत कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेशका जनमोर्चाका कार्यकर्ताहरुले विद्रोह गरेका थिए। धनगढीमा प्रदेश स्तरीय दुई दिने भेला गरेर राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले केन्द्रले विधि विधानविपरीत काम गरेको भन्दै विद्रोहको घोषणा गरेका थिए। उनीहरुको विद्रोहको घोषणा गरेको दुई महिना नपुग्दै पार्टीको भातृ संगठनको केन्द्रीय स्तरमा समेत सांगठनिक विवाद चुलिएको छ।

प्रकाशित: २४ आश्विन २०७८ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App