१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ः दुई विधेयक पारितपछि सातौं अधिवेशन अन्त्य

प्रदेश २ प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्रीलाई विश्वासको मत र दुई विधेयक पारित गर्दै अधिवेशन अन्त्य भएको हो। प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम असोज २२ गते शुक्रबार रातिबाट लागु हुनेगरी अधिवेशन अन्त्यको पत्र प्रदेशसभालाई पठाएको प्रदेशसभाका सचिवालयका सचिव रञ्जित यादवले बताए।

सातौं अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वसको मत प्राप्त गरेको थियो। दोस्रो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता गरिएको दुई विधेयक पारित गर्दै सातौं अधिवेशन अन्त्य गरिएको हो। प्रदेशसभामा प्रदेशको राजधानी तोक्ने, नामांकन गर्ने प्रस्तावसहित १३ विधेयक छलफलको क्रममा रहेको सचिवालयका सचिव यादवले बताए।

लामो समयको अन्तरालपछि बसेको प्रदेशसभाको सातौं अधिवेशनमा प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम र राजधानी टुंगो लगाउन माग गरेका थिए। अधिवेशन सुरु भएको पहिलो बैठकमा शुभकामना दिंदै सत्ताधारी र प्रतिपक्षी दलका सांसदहरूले प्रदेशको नाम र राजधानी तोक्न नसक्दा चौतर्फी आलोचना खेप्नु परेको गुनासो व्यक्त गरेका थिए। सांसदहरूले नामांकन र राजधानी टुंगो लगाउन प्रदेशसभा संसद् सचिवालय र सरकारलाई आग्रह गरेका थिए। 

लामो समयदेखि संसद्को विषयगत समिति समेत नेतृत्वविहीन छ। सभापतिविहीन भएको संसदीय समितिको बैठक समेत प्रभावित भएको छ। सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समिति सभापतिविहीन छ।

यसैबीच प्रदेशसभाका विषयगत समितिहरूको सदस्य फेरबदल गरिएको छ। प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादवलाई सार्वजनिक लेखा समितिमा, सुरेश मण्डललाई कृषि तथा भूमि व्यवस्था समितिमा, ज्ञानेन्द्रकुमार यादव र सरोजकुमार सिंह कुशवाहालाई प्रदेश मामिला समितिमा राखिएको छ। लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई प्राकृतिक स्रोत तथा वातावरण समितिमा र अभिराम शर्मालाई सार्वजनिक लेखा समितिमा र डिम्पलकुमारी झालाई अर्थ तथा योजना समितिमा राखिएको छ।

प्रदेशसभा सदस्य सिंहाशन साह कलवारलाई कृषि तथा भूमि व्यवस्थापन समितिबाट सार्वजनिक लेखा समितिमा, बबिता कुमारीलाई सार्वजनिक लेखा समितिबाट प्रदेश मामिला समितिमा, प्रह्लाद गिरी गोस्वामीलाई प्रदेश मामिला समितिबाट सार्वजनिक लेखा समितिमा र जानकीशरण साहलाई सार्वजनिक लेखाबाट प्राकृतिक स्रोत तथा वातावरण समितिमा ल्याइएको जानकारी शुक्रबार प्रदेशसभा बैठकमा सभामुखले जानकारी गराएका थिए।

प्रकाशित: २४ आश्विन २०७८ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App