coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक पार्टीकाे पदीय स्वार्थले मुलुक दुर्गतितिर धकेलियाेः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलहरूमा देखापरेको राजनीतिक विकृति र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताएका छन्। 

राजनीतिक पार्टीहरूमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको  र त्यसले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताए। राष्ट्रिय जनमोर्चा निकटको अखिल (छैठौं) को २२ औं राष्ट्रिय सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै नेता केसीले दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने हो कि भन्ने अवस्था भएको उनले बताए। ‘देशी तथा विदेशी तत्वहरूले नेपालको  राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनतामाथि धावा बोलिरहेका छन्,त्यसलाई मलजल हुने गरी दलाल पार्टीहरू लागिरहेका छन्’ उनले भने।

उनले सत्ता र शक्तिमा रहेका पार्टीहरूमा विचलनकै कारण मन्त्री हुनेहरूको लाइन लागेको बताए। गठबन्धनको सरकारमा मन्त्री बन्न दौरा सुरुवाल सिलाएर बसेको बताउँदै उनले त्यसलाई राजनीतिक विचलन र स्खलनको नमूना भएको बताए। 

उनले ठूला दलहरुमा देखापरेको राजनीतिक विकृित र विसंगतिको परिणामले निम्ताएकोे फल नेपाली जनताले भोग्नुपरेको भन्दै उनले युवा विद्यार्थीहरू पनि सचेत हुनुपर्ने बेला आएको बताए। केसीले पार्टी भित्रको विवाद वामपन्थी संर्किणवादको संकेत भएको बताए। ‘आफ्नो कुनै क्रान्तिकारी लाइन दिन नसक्ने तर पार्टीले दक्षिणपन्थी लाइन लियो भन्ने प्रवृत्ति नै वामपन्थी संर्किणवादको उदाहरण हो’ केसीले भने।

नेपालको शिक्षा नीतिले विदेशीको दलाली र चाकडीगर्ने जनशक्ति तयार गरिरहेको उनको भनाई छ। उनले अहिलेका सत्ताधारी नेतृत्व राजनीतिक रुपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने दावी गरे। अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा खुम्चदै गएको भन्दै आलोचना गरेको बिषयमा आफूहरुले छानेर मात्रै मान्छे राख्ने गरेको बताए। नेता केसीले आफूहरु जनवादी व्यवस्थाको पक्षपोषक भएको दावी समेत गरे।

‘हामी जनवादी व्यवस्थाको पक्षधर हौँ, तर यो संसदीय व्यवस्थाको विकल्प छैन। अहिले अन्य व्यवस्थाको सम्भव छ ?’ उनले भने, सम्मेलनमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनले गलत कुराको विरोध गर्ने तागत राख्नुपर्ने बताउँदै बा प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। 

नेपाल विद्यर्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले लामो समयदेखि एउटै एजेन्डामा विद्यार्थी आन्दोलन केन्द्रित भएकाले समस्याहरू समाधान हुन नसकेको बताए। अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष यमराज पाण्डेले विद्यार्थीका एजेन्डा कमजोर बन्दै गएको बताए।

सम्मेलनमा विप्लप नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल लगायतले बोल्दै शिक्षा र स्वास्थ्य निशुल्क बनाउन जोड दिए। शुक्रबारदेखि शुरू भएको अखिल छैटौंको सम्मेलनमा देशैभरका ६५ भन्दा बढी जिल्लाबाट प्रतिनिधि पर्यवेक्षक आएका छन्। सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ।

प्रकाशित: २३ आश्विन २०७८ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App