१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री बन्न दौडादौड

चारवटा मन्त्रालयसहित संघीय सरकारमा सहभागी हुने तयारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ। जसपाका १९ सांसद मन्त्रीका आकांक्षी छन्। संघीय संसद्मा जसपाका २१ सांसद छन्। जसमध्ये प्रतिनिधिसभामा १९ र राष्ट्रियसभामा २ सांसद छन्।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने भएका छन्। उपप्रधानमन्त्री नपाउने भएपछि कार्यकारिणी समितिका अध्यक्ष यादव सरकारमा नजाने भएको सोही दलका नेताहरूले बताएका छन्। मन्त्री बन्नकै लागि आकांक्षीहरूले बुधबार दिनभर दौडधुप गरे।

सत्ता गठबन्धन दलबीच मंगलबार मन्त्रालय बाँडफाँट भएपछि जसपाले पार्टीबाट सरकारमा जानेको नाम छान्न बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको थियो। 

आकांक्षी १९ सांसदमध्येबाट चारजनाको नाम छान्न सकस भएपछि बैठकले यसको जिम्मेवारी पार्टीका शीर्ष तीन नेता संघीय परिषद्का अध्यक्ष डा. भट्टराई, कार्यकारिणी समितिका अध्यक्ष यादव र नेता अशोक राईलाई दिएको छ। राई बुधबार काठमाडौंबाहिर भएकाले बैठकमा अनुपस्थित थिए। सरकारमा पठाउने सांसदको नाम छनोटका विषयमा भट्टराई र यादवले साँझ छुट्टै छलफल गरे।

जसपा नेता मिर्गेन्द्रसिंह यादवले नाम छान्न अप्ठेरो भए पनि बिहीबार बिहानसम्म टुंगो लाग्ने सम्भावना रहेको बताए। उनले भने, ‘अहिले अनुमानमात्र हो। सूचीमा कसको नाम आउँछ, भन्न सकिने अवस्था छैन।’ मन्त्रीका आकाक्षीले सूचीमा पर्न विभिन्न किसिमबाट लबिङ गरेका छन्। 

शीर्ष नेताहरूलाई विभिन्न सूत्रबाट दबाब दिने प्रयास उनीहरूले गरिरहेका छन्। जसपाका एक नेताले भने, ‘कम्तीमा १० सांसदलाई पार्टी अध्यक्षज्यूले व्यक्तिगत रूपमा मन्त्री बनाउने आश्वासन दिनुभएको छ। आश्वासन पाएकाहरू आशावादी हुनु स्वाभाविक हो।’

पार्टी स्रोतका अनुसार जसपाले पाएका चार मन्त्रालयमा २ जना यादव र दुईजना गैरयादव समुदायबाट पठाउने सम्भावना छ। आकांक्षीहरूमा यादव समुदायका मात्रै ११ जना छन्। यसबाट २ जना छान्न पार्टी अध्यक्ष यादवलाई सकस भएको छ।  

यादव समुदायबाट महेन्द्र यादव, राजकिशोर यादव, रामसहाय यादव, रेणु यादव, मिर्गेन्द्रसिंह यादव, प्रमिला यादव, प्रदीप यादव, सूर्यनारायण यादव, सुृरेन्द्र यादव र रामबाबु यादव मन्त्रीका आकांक्षी छन्। यीमध्ये मृगेन्द्रसिं र प्रमिला राष्ट्रियसभा सदस्य र अरू प्रतिनिधिसभा सदस्य हुन्। 

रामसहाय यादव, प्रदीप यादब, रामबाबु यादव अहिलेसम्म सरकारमा गएका छैनन। उनीहरूलाई मन्त्री बनाउन अध्यक्ष यादवलाई दबाब परेको छ। मन्त्रीमा एकजना महिला पनि छान्नुपर्ने बाध्यता यादवलाई छ। महिलामध्येबाट रेणु, प्रमिला र अमृता अग्रहरीको चर्चा छ। 

जसपाका २१ सांसदमध्ये ७ जना महन्थ ठाकुरलाई छाडेर यादवतिर गएका छन्। ती सबै मन्त्रीका आकांक्षी छन्। स्रोतका अनुसार यादव समुदायबाट महेन्द्र, रेणु र मिर्गेन्द्रसिंहमध्येबाट २ जनाको नाम छनोट हुने सम्भावना बढी छ।

यसैगरी, गैरयादव समुदायबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राई र प्रमोद साहमध्येबाट २ जनाको नाम छनोट हुने सम्भावना बढी छ। अध्यक्ष यादव सरकारमा नजाने भएपछि महिलातर्फबाट रेणुको सम्भावना बढेको एक नेताले बताए। ती नेताले भने, ‘अध्यक्ष यादव सरकारमा जाने हो भने रेणुको नाम हट्छ र महिलातर्फबाट अमृता अग्रहरीको नाम आउँछ। तर महिलाबाट रेणुको सम्भावना बढी छ।’

प्रकाशित: २१ आश्विन २०७८ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App