coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद् चलाउन एमाले हठ बाधक

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।  

आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन्। प्रधानमन्त्री हुँदा पनि उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए। उनको कदमलाई दुईपटक नै सर्वोच्च अदालत अवैध ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो। ओली अहिले पनि संसद् चल्न नदिने रणनीतिमा छन्।  

पार्टीका असन्तुष्ट १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै एमालेले संसद् चल्न दिएको छैन। सत्ताबाट बाहिरिनुपरेको आक्रोश एमालेले संसद् बैठक चल्न नदिएर पोखेको कांग्रेसका एक नेताले बताए। ‘माधव नेपालसहित १४ जनालाई कारबाही गरिएन भन्ने एमालेको बहानामात्र हो,’ ती नेताले भने, ‘पाँच वर्ष ढुक्कले सत्तामा बसिन्छ भन्ने थियो। तर उहाँहरू आफ्नै कारणले सत्ताच्युत हुनुभयो। त्यसको आक्रोश पूर्वप्रधानमन्त्री ओलीमा देखिन्छ।’

ओलीकै कारण अहिले कांग्रेस नेतृत्वमा सरकार गठन हुने अवस्था आएको भन्दै ती नेताले भने, ‘ओलीमा सत्ताबाट बाहिरिनुपरेको आक्रोश हुनु अस्वाभाविक होइन। तर यो अवस्था ओलीकै कारणले आएको हो।’ मेरो विकल्प मैमात्र हो भन्ने ओली प्रतिपक्षमा पुग्दा आक्रोशित र उत्तेजित भएको ती नेताले बताए।  

वार्ता र छलफल बहिष्कार लोकतान्त्रिक शासन व्यवस्थामा सुहाउने कुरा होइन। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेर एमालेले समस्याको निकास नचाहेको आरोप लगाए। ‘सर्वदलीय बैठक बहिष्कार गर्ने, संसद् बैठकमा अवरोध गर्ने, छलफलमै नबस्ने हठले राजनीतिक गतिरोध अन्त्य हुँदैन,’ पौडेलले भने, ‘म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसद्बाट निकास खोज्नु बुद्धिमत्ता हुन्छ।’ विगतमा पनि ओलीले पटकपटक संसद् विघटन गरेका प्रति संकेत गर्दै उनले थपे, ‘संसद्को सर्वोच्चता स्विकार्ने नेतृत्वले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छ।’

संसद्को अवरोध हटाउन ओलीसँग निरन्तर छलफलमा रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल संवादबाट भाग्न खोजेको बताए। संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओली अनुपस्थित भएको भन्दै मन्त्री कार्कीले थपे, ‘वार्ताबाट विगतमा धेरै ठूला समस्या हल भएका छन्। तर उहाँहरू (एमाले) त्यसबाट पर भाग्न खोज्नु मुलुकको आवश्यकताभन्दा भिन्न छ।’

प्रधानमन्त्री देउवाले बैठकमा संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको अवरोध हटाउन अझै संवाद जारी राख्ने बताएका छन्। प्रधानमन्त्री निवासमा आयोजना गरिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संवादबाट संसद्को अवरोध हटाउन आफूले प्रयास गरिरहने बताएका हुन्।  

एमाले बैठकमा सहभागी नभए पनि सहभागी दलका नेताहरूले संवादका लागि पहल जारी राख्न प्रधानमन्त्रीलाई सुझाए। बैठकमा सहभागी दलका नेताहरूले प्रधानमन्त्रीको पहल सकारात्मक भएको जनाउँदै आगामी दिनमा पनि पहल लिन सुझाएका थिए। भदौ २३ देखि एमालेले संघीय संसद् बैठक सञ्चालनमा अवरोध गर्दा विधेयकहरू अलपत्र परेका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रधानमन्त्री देउवालाई संसद्मा जारी गतिरोध अन्त्यका लागि पहल लिन सुझाएका थिए। सोहीअनुसार देउवाले बैठक बोलाएको कानुनमन्त्री कार्कीले जानकारी दिए। ‘संसद्लाई निर्बाध रूपले अगाडि बढाउनु अहिलेको आवश्यकता हो। यसको बोध सबैले गर्नुपर्छ,’ कार्कीले भने।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले समस्या समाधानका लागि प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग मात्र छलफल गर्नुपर्ने बताए। एमाले अध्यक्ष ओलीसँग मात्र छलफल गरेर निकास निकाल्नुपर्ने भन्दै भट्टराईले थपे, ‘एमालेले उठान गरेका मुद्दा समाधान हुनेगरी सत्तापक्ष वा सभामुखले सीधै हामीसँग संवाद गर्दा भइगयो नि। अरूलाई भेला पारेर हामीसँग बसाउनु पर्दैन, त्यो जरुरी हामी ठान्दैनौं। सीधा एमालेसँग संवाद गर्ने भए सधैं खुला छौं।’

प्रकाशित: १५ आश्विन २०७८ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App