१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनका लागि कर्णालीका तीन जिल्लाका पाँच वटा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेका छन्। प्रदेशसभाको नेतृत्व चयन गरिसकेका तीनवटै जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन हुँदैछ। निर्वाचन सम्पन्न भएका तीन जिल्लाका पाँचवटै प्रदेशसभामा संस्थापन पक्षले जीत निकालेको छ।  

कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ। जिल्ला अधिवेशन हुन लागेका तीनवटै जिल्लाको प्रदेसशभाको नतिजाले संस्थापन पक्ष उत्साही बनेको छ। हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा संस्थापन पक्षका मानदेव शाही विजयी भएका छन्। प्रदेश कार्यसमिति र प्रदेश प्रतिनिधिहरु पनि संस्थापन समूहकै निर्वाचित भए। यस्तै हुम्लाकै प्रदेशसभा ‘ख’ को सभापतिमा तक्दिर लामा निर्वाचित भए। यहाँ पनि प्रदेशसभा कार्यसमिति र प्रदेश प्रतिनिधिहरु देउवा समूहकै निर्वाचित भएका छन्।  

यस्तै कालिकोटका दुईवटै प्रदेशसभाको निर्वाचनमा पनि संस्थापन समूहकै सभापति विजयी भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र नं.‘क’बाट संस्थापन समूहका नन्दबहादुर सिँह विजयी भए। कार्यसमितिमा सातजना संस्थापन समूहका छन् भने बाँकी पौडेल समूहका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’मा पनि संस्थापन समूहका आनन्दकुमार शाही विजयी भएका छन्। उनी पनि संस्थापन समूहका हुन्। १८ सदस्यीय प्रदेश कार्यसमितिमा संस्थापन समूहका ११ जना छन्।

यस्तै मुगुका दुई प्रदेशसभा मध्ये एउटाले नेतृत्व पाएको छ। अर्को प्रदेशसभाको नेतृत्व चयनका लागि छलफल चलिरहेको छ। चार स्थानीय तहमध्ये तीन स्थानीय तहको नेतृत्व गरेको संस्थापन समूहबाटै प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’बाट कार्मा फुण्डुङ लामा विजयी भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा सहमतिको प्रयास भइरहेको छ।

पालिकामा बराबर

कर्णाली प्रदेशका १० जिल्लामध्ये आठवटा जिल्लाको पालिकास्तरको निर्वाचन सम्पन्न भइसकेको छ। निर्वाचन सम्पन्न भएका ६२ वटा पालिकामध्ये ३१ मा संस्थापन र ३१ मा पौडेल समूह विजयी भएको छ। निर्वाचन हुन बाँकी रहेका सुर्खेत र डोल्पामा संस्थापन समूह बलियो देखिएको छ।  

रुकुम पश्चिमका छवटा पालिका मध्ये दुई पालिकाको नेतृत्वमा संस्थापन समूह पुगेको छ भने चारवटा पालिका पौडेल समूह विजयी भएको छ। यस्तै सल्यानका १० पालिकामध्ये पाँच–पाँच पालिकामा संस्थापन र पौडेल समूह निर्वाचित भएको छ। जाजरकोटमा चारवटा पालिका संस्थापन समूहले जितेको छ भने तीनवटा पालिका पौडेल समूहले जितेको छ।

दैलेखका ११ मध्ये पाँचवटा पालिकामा संस्थापन समूहमा विजयी भएको छ भने छवटा पालिकामा पौडेल समूह विजयी भएको छ। कालिकोटका ९ पालिकामध्ये चारमा संस्थापन समूह र पाँचमा पौडेल समूह विजयी भएको छ। जुम्लाका आठमध्ये छ पालिकामा पौडेल समूह र दुई पालिकामा संस्थापन समूह विजयी भएको छ। हुम्लाका सातमध्ये छ पालिकामा संस्थापन समूह र एक पालिकामा पौडेल समूह विजयी भएको छ। मुगुका चारमध्ये तीन पालिकामा संस्थापन र एक पालिकामा पौडेल समूह विजयी भएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App