१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सुनसरीमा देउवा पक्षीय कमजोर, पौडेल समूहको पकड

नेपाली काँग्रेसको गाउँ/नगरको अधिवेसनबाट सुनसरीमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय कमजोर देखिएको छ। यहाँ १२ वटा स्थानीय तह रहेकोमा शनिबार भएको ११ वटा पालिकामध्ये सातवटामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको नेतृत्व विजयी भएको छ। तीनवटा स्थानीय तहमा देउवा पक्षीयले जितेको छ भने एउटामा विजयी नेतृत्व ‘क्लियर’ खुलेका छैनन्।  

नेपाली काँग्रेस १३ औं महाधिवेसनमा पनि सुनसरीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकै पकड रहेको थियो। यहाँ हेबी वेटका नेता बिजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानालगायतका नेता काँग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचन आफ्नो पक्षमा पार्न सक्रिय भएका थिए।

निर्वाचनको अन्तिम नतिजा अनुसार  इटहरीमा वरिष्ठ नेता पौडेल समूहका हेमकर्ण पौडेल विजयी भएका छन्। उनले देउवा पक्षीय विकास केसीलाई हराएर विजयी भएका हुन्। पौडेलले सभापतिमा तेस्रो पटक जितेका हुन्। उनी यसअघि दुई कार्यकाल इटहरीको सभापति भएका थिए। पौडेलले कुल चार सय ८२ मतमध्ये केसीलाई ४२ मतले पराजित गरेका छन्। पौडेलले दुई सय ५३ मत प्राप्त गरे भने केसीले दुई सय ११ मत प्राप्त गरे।  

इटहरीमा उपसभापति, सचिव र सहसचिवमा भने पौडेल र केसी प्यानलका पक्षीय मिश्रित नतिजा आएको छ। उपसापतिमा पौडेल प्यानलका कोविद कार्की विजयी हुँदा केसी प्यानलका बालकृष्ण विष्ट विजयी भएका छन्।  नगर सचिवमा केसी प्यानलका मन्दिप भट्टराई विजयी हुँदा र पौडेल प्यानलका विक्रम घिमिरे निर्वाचित भए। सहसचिवमा पौडेल प्यानलका ईश्वर तामाङ् विजयी हुँदा र केसी प्यानलबाट मेनुका गिरी निर्वाचित भइन्। इटहरीमा सदस्य पदमा विजयीमध्ये बढी देउवा इतर समूहकै रहेका छन्।  

काँग्रेस महाधिवेसन अन्तर्गत  धरान उपमहानगरमा पनि वरिष्ठ नेता पौडेल पक्षीय उम्मेदवार विजयी भएका छन्। सभापति, उपसभापति, सचिव र सहसचिवमा पौडेल पक्षीय उम्मेदवार विजयी भएका हुन्। सभापतिमा पौडेल पक्षीय श्याम पोखरेल विजयी भएका छन्। पोखरेलले ३९ मतले देउवा समूहका किशोर राईलाई पराजित गरे। पोखरेलले दुई सय ६२ ल्याउँदा र राईले दुई सय २३ मत प्राप्त गरेका छन्।  

निर्वाचनमा सभापतिमा विजयी पोखरेल प्यानलकै उपसभापतिमा नरेन्द्र कुमार राई (प्रवीण) र सन्तोष लिम्बू, सचिवमा जितेन्द्र राई तथा हिमाल श्रेष्ठ विजयी भएका छन्। सहसचिवमा पोखरेल प्यानलबाटै युनेश राना मगर र शिला बज्रचार्य विजयी भए।  

१४ औं महाधिवेसन अन्तर्गत इनरुवा नगरपाकिलामा देउवा इतर समूहकै राजन मेहता दोस्रोपटक विजयी भए। उनले २२९ मत ल्याएर विजयी भएका हुन्। इनरुवामा सभापतिका अर्का उम्मेदवार योगेन्द्र मेहताले ७९ ल्याउँदा सितोष पोखरेलले ६९ मत ल्याए। दुहवीमा वरिष्ठ नेता पौडेल पक्षीय वेद गच्छदार सभापतिमा विजयी भएका छन्। वेद प्यानलकै उपसभाापति, सचिव र सहसचिवमा पनि विजयी भएका छन्।  

रामधुनीमा पनि दोस्रोपटक सभापतिमा  सुदीप अधिकारी विजयी भएका छन्। अधिकारीले १ सय ३ मत ल्याएर विजयी भएका हुन्। अधिकारीले सगेन चौधरी र दिलबहादुर राईलाई हराएर विजयी भएका हुन्।  

बराहक्षेत्र नगरपालिकामा देउवा पक्षीय रमेश कार्की सभापतिमा विजयी भएका छन्। वरिष्ठ नेता पौडेल पक्षीय नारायण नेपाललाई ५२ मतान्तरले हराएर कार्की सभापतिमा विजयी भएका हुन्। निर्वाचनमा विजयी कार्कीले ११३ मत ल्याउँदा सभापतिका उम्मेदवार रन्त बहादुर राउतले ४४ र नारायण नेपाल ६१ मत ल्याएका थिए।  

गाउँपालिका अन्तर्गत हरिनगरमा वरिष्ठ नेता पौडेल पक्षीय नुनु अनसारी  र देवानगञ्ज गाउँपालिकामा जगधर यादव सभापतिमा विजयी भएका छन्। यस्तै, बर्जु र गढीमा भने काँग्रेस नेता बिजयकुमार गच्छदार निकट सभापतिमा विजयी भएका छन्। बर्जुमा कृष्ण संग्रौला र गढीमा कमल चौधरी विजयी भएका छन्। कोशी गाउँपालिकाका सभापति पदमा विजयी सुलेमान मनसुरीले भने आफ्नो लाइन क्लियर गरेका छैनन्। 

उनी स्थानीय स्तरमा काँग्रेस नेता अयूव अनसारीको मार्ग निर्देशन अनुसार अघि बढ्छन। तर, काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला र जिल्ला सभापति राजीव कोइरालासँग पनि घनिष्ठ सम्बन्ध रहेको छ। उनले भने, ‘म असल काँग्रेस हुँ, मेरो कुनै गुट नै छैन।’सुनसरीको भोक्राहा-नरसिंहमा दुई पक्षीय विवादले गर्दा निर्वाचन स्थगित भएको छ।  

१३ औं महाधिवेसनमा देउवा इतर समूहको पकड बलियो देखिदा नेता बिजयकुमार गच्छदार फोरम लोकतान्त्रिक र ज्ञानेन्द्र कार्की भोजपुरबाट राजनीति गरेकाले गर्दा कुनै भूमिका थिएन्। तर, यसपटक देउवा पक्षका हेबी वेट बढी भएको र अनि संस्थापत इतर समूह आफ्नो बिरासतलाईं कायमै राख्ने दाउँमा रहँदा आम निर्वाचनको झझल्को हुने गरि चुनाबमा सक्रिय भएका थिए।  

यहाँ देउवा पक्षीय हेबी वेटका नेतामा बिजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगाना, पूर्व मन्त्री सीताराम मेहतालगायतका नेता रहेका छन्। देउवा इतर समूहमा भने नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, पूर्व राज्यमन्त्री हरि सापकोटालगायतका नेता रहेका छन्। यहाँ अब क्षेत्रीय र जिल्ला नेतृत्वका लागि पनि सभापति देउवा इतर समूहको पकड देखिने दावी गरिएको छ।

प्रकाशित: ११ आश्विन २०७८ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App