१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : १० जिल्लामा गाउँ-नगर अधिवेशन सुरु

अधिकाँस पालिकामा गुटका प्यानल चुनावी मैदानमा

लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम्मेदवारी दर्ता सकिएको छ। बाँकेमा क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ। गुल्मीमा आन्तरिक विवादका कारण अधिवेशन सुरु हुन नसकेको बताइएको छ।

लुम्बिनीका दशवटै जिल्लाका अधिकाँस पालिकामा संस्थापन र संस्थापन इतर समूह गुटगत रुपमा दुई वटा प्यानल घोषणा गरेर चुनावी मैदानमा होमिएका छन्।  

बुटवलमा पाण्डे र केसी

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा १६ वटा पालिका मध्ये केहीमा निर्वाचन र केहीमा सर्वसहमतिमा नेतृत्व चयन हुँदैछ। जिल्लामा ४ हजार बढी काँग्रेसका मतदाताले गाउँ/नगरको मतदानमा भाग लिँदैछन्। जिल्लाका ६ वटा नगरपालिका मध्ये ५ वटामा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको दुई प्यानल चुनावी मैदानमा छन्।

बुटवल उपमहानगरपालिकामा हालका नगरसभापति खेलराज पाण्डे र रिता केसीको  प्यानलले उम्मेदवारी दर्ता गराएको छ। पाण्डे पौडेल पक्ष र केसी देउवा पक्ष हुन्। पाण्डेको प्यानलमा उपसभापति ज्योती भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरुषोत्तम खनाल चुनावी मैदानमा छन्।  

केसीको प्यानलमा उपसभापति नरबहादुर रजाली र हरिलाला सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेस घिमिरे छन्। बुटवलमा तुलनात्मक रुपमा संस्थापन पक्ष कामजोर मानिन्छ। बुटवलका १९ वटा वडाबाट छनौट भएका ५ सय ८४ जना क्षेत्रीय प्रतिनिधिले मतदानमा भाग लिनेछन्।

गृहमन्त्री खाँणको गृहनगर तिलोत्तमा नगरपालिकामा पनि दुई वटा प्यानल चुनावी मैदानमा छन्। देउवा गुटबाट हालका पार्टी नगरसभापति हरिलाल पाण्डे र पौडेल गुटबाट नारायण न्यौपाने चुनावी मैदानमा छन्।  

पाण्डेको प्यानलबाट उपसभापतिमा कल्याण पौडेल र माया चौधरी, सचिवमा प्रदिप थापा र हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुली छन्।

यस्तै, न्यौपानेको प्यानलमा उपसभापति अशोककुमार क्षेत्री(अग्नी) र मधुसुदन गैह्रे, सचिवमा प्रकाश गैह्रे र सोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय छन्। तिलोत्तमाका १७ वटा वडाबाट छनौट भएका ३९२ क्षेत्रीय प्रतिनिधिले नगरको नेतृत्व छनौटका लागि मतदान गर्नेछन्।  

सिद्धार्थनगर नगरपालिकामा पनि देउवा गुटबाट कोशिशबहादुर खड्का र पौडेल गुटबाट संजीव शर्मा रेग्मीको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। सिद्धार्थनगरका १३ वटा वडाबाट छनौट भएका २४० जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन्।  

काँग्रेसका अर्का नेता भरतकुमार शाहको क्षेत्र सैनामैना नगरपालिकामा पनि दुई वटा प्यानल चुनावी मैदानमा छन्। यहाँ देउवा पक्षबाट कृष्णप्रसाद पोखरेल र नेता शाहको पक्षबाट रणबहादुर खनालको नेतृत्वमा प्यानल चुनावी मैदानमा छ। नेता भरत शाहको क्षेत्रमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकामा हालका नगरसभापति मोहम्मद सईत खाँनकै पक्षमा सर्वसम्मत गराउने प्रयास अहिले पनि जारी छ।

देवदह नगरपालिकामा देउवा पक्षबाट हालका नगरसभापति गुणाखर भुर्तेल र पौडेल पक्षबाट झविन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। गाँउपालिकाहरुमा भने अधिकाँसमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना छ।

प्रकाशित: ९ आश्विन २०७८ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App