coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चाँडै सरकारमा जान उपेन्द्रलाई पार्टीभित्रै दबाब

सरकारमा जान ढिलो गरे पछि जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पार्टीभित्रै दबाब परेको छ। जसले गर्दा उनी अहिले दोहोरो तनावमा परेका छन्। 

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभई सरकारमा सरकारमा गए पार्टी फुट्ने डर छ। अर्कोतिर, सरकारमा जान ढिलो गरेपछि मन्त्रीका आकांक्षीहरूले दिनदिनै अध्यक्षलाई दबाब दिने गरेका छन्।

पुरानो राष्ट्रिय जनता पार्टी (राजपा) का ७ जना सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेका छन्। तीमध्ये केहीलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्। जसपाका एक नेता भन्छन्, ‘मन्त्री हुनकै लागि कित्ता परिवर्तन गरेका सांसदहरू मन्त्री हुन पाएनन् भने पार्टी फुटाउने अवस्था रहन्छ।

त्यसमा पनि जस जसलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्, उनीहरू मन्त्री हुन पाएनन् भने यादवसँग चिढिने निश्चित छ। त्यसैले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा नजाने अडान यादवले लिएका छन्।

जसपाका पाँच सांसदले चाहनेबित्तिकै जसपा फुट्ने अवस्था छ। जसपामा २० सांसद छन्। पार्टी फुटाउन २० प्रशित पुर्‍याउन पाँचजना सांसद भए पुग्छ। मन्त्री हुन लबिङ गरिरहेका जसपाका नेताहरूले जतिसक्दो चाँडो सरकारमा जान अध्यक्षलाई दबाब दिने गरेका छन्।  

पार्टीबाट कसलाई नेतृत्व गरेर पठाउने भन्ने विषयमा पनि पार्टीभित्रै विवाद छ। अध्यक्ष यादव आफैँ सरकारमा गए भने उनले नेतृत्व गर्नेछन्। तर, उनी गएनन् भने पार्टीबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव र महेन्द्र यादवले पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन्।

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीबाट नेतृत्व गर्दै श्रेष्ठलाई सरकारमा पठाउन चाहेका छन्। रेणु यादव तथा महेन्द्र यादव दुवैले आफैंले नेतृत्व गर्न चाहेका छन्। यादवनिकट स्रोतका अनुसार उपप्रधानमन्त्री नपाए उनी सरकारमा जानेछैनन्। 

प्रधानमन्त्री देउवा भने सकेसम्म यसपटक उपप्रधानमन्त्री पद राख्ने पक्षमा छैनन्। यादवलाई उपप्रधानमन्त्री दिनेबित्तिकै अरू तीन उपप्रधानमन्त्री थप्नुपर्ने र यसबाट सरकार अलोकप्रिय हुने देउवाको बुझाइ छ।

स्रोतका अनुसार यादवले सर्लाहीका दुई सांसद महेन्द्र यादव र प्रमोद साहको नाम सिफारिस गर्ने सम्भावना छ। यादव र साह सुरुमै कित्ता परिवर्तन गरी महन्थ ठाकुरबाट उपेन्द्र यादवतिर लागेका हुन्। 

यादवनिकट स्रोतका अनुसार अध्यक्ष यादवले पर्साका दुई सांसद रामसहाय यादव र प्रदीप यादवमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन्। रामसहाय र प्रदीप यादव अहिलेसम्म सरकारमा गएका छैनन्। रामसहाय पूर्वसमाजवादीका महासचिव पनि हुन्। लुम्बिनी प्रदेशबाट यादवले इस्तिायक राई र अमृता अग्रहरीमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन्। ‘लुम्बिनी प्रदेशबाट दुईमध्ये एक या दुवै समेटिने सम्भावना छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार यादव सरकारमा गएनन् भने सप्तरीकी सांसद रेणु यादवलाई सरकारमा पठाउने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार यसपटक यादवले महिलाका तर्फबाट रेणु यादव र अमृता अग्रहरीमध्ये एकलाई सरकारमा पठाउने सोच बनाएका छन्।

केपी ओली नेतृत्व सरकारमा सहभागी भएका सांसदलाई यसपटक सरकारमा नपठाउने नीति बनाएको जसपाका अर्का एक कार्यकारिणी सदस्यले बताए। यो नीति कार्यान्वयन भए राजकिशोर यादव र रेणुका गुरुङ यसपटक सरकारमा जान पाउनेछैनन्।

प्रकाशित: ८ आश्विन २०७८ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App