१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीद्वयको गुनासोः संघीय सरकारको असहयोगले कामै गर्न सकिएन

पोखरा आएका प्रदेश–२ मुख्यमन्त्री लालबाबु राउत र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको छलफल । तस्बिरः नागरिक

संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको दुखेको मुख्यमन्त्रीहरुले पोखेका छन । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट असहयोग भएको गुनासो पोखे ।

गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणमा प्रदेश–२ मुख्यमन्त्री राउतसहितको टोली बुधबार पोखरा आएको छ । दुईजना मुख्यमन्त्रीको भेटमा उनीहरुले संघीय सरकारको असहयोगको दुखोसो साटासाट गरे । भेटघाटका क्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले जनताको चाहना बमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नुपरेको बताए । उनले भने, ‘अधिकार बाँडफाँडका सवालमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिन्छ ।’  

राजश्वको बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई सानो आकारमा मात्र उपलब्ध गराउँदा प्रदेशका विकासका आवश्कता पूरा हुन नसकेको उनले बताए । त्यसैले प्रदेश सरकारले पाउँदै आएको रकम बढाउनुपर्ने उनले बताए । संघीय सरकारले कर्मचारी समायोजनमा पर्याप्त भूमिका नखेलेको, शान्ति सुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार नदिएको जस्ता गुनासो पोखरेलले पोखेका थिए ।  

‘ठूला विकासका काम अघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा वाधक, विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान दिएको छैन,’ पोखरेलले भने, ‘ठूूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट मात्र हुने गरेको छ । त्यसमा प्रदेशको संलग्नता वृद्धि हुनुपर्छ ।’ अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्ने तर्फ पनि घच्घच्याउनु आवश्यक रहेको उनको भनाइ थियो ।  

साझा सरोकारका विषयमा समय समयमा मुख्यमन्त्रीहरु बीच छलफल गरी अनुभव तथा सहयोगको आदानप्रदान तथा संघीयताको प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए । सबै प्रदेशका मुख्यमन्त्रीसँग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको पनि उनले बताए ।  

गण्डकी प्रदेश र प्रदेश २ का बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको उनले बताए । पर्यटन प्रवद्र्धनमा प्रदेश–२ का सास्कृतिक धरोहरु जानकी, गढीमाईको मन्दिर र मेला, छिन्नमस्ता, सहलेस फूलबारी, धनुष क्षेत्र, जलेश्वरनाथ महादेव आदिजस्ता स्थल रहेकाले गण्डकी प्रदेशमा आएका पर्यटकलाई प्रदेश–२ र प्रदेश २ मा आएका पर्यटकलाई गण्डकी प्रदेशमा पठाउन सहकार्य गर्नुपर्ने बताए । त्यसमा निजी क्षेत्रको सहभागिता खोजिने पनि उनले बताए ।  

प्रदेश–२ का मुख्यमन्त्री राउतले संघीयतालाई मजबुत बनाउन आफूहरुले निकै संघर्ष गर्नुपरेको बताए । अढाई वर्ष अघि पोखरामा मुख्यमन्त्रीहरुको सम्मेलन भएको स्मरण गर्दै उनले त्यो सम्मेलनले उठाएका सवाललाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सेको बताए । 

उनले भने, ‘केन्द्र र ६ प्रदेशमा कम्युनिष्ट पार्टीकै सरकार थियो, अधिकार हस्तान्तरण गर्न असहज थिएन । तर त्यतिबेलाका प्रधानमन्त्री ओलीले प्रदेशका कुरा सुन्न नै चाहनुभएन ।’ अधिकारकै लडाइँका क्रममा आफूहरु संघ सरकारसँग मुद्दा लडिरहेको बताउँदै अधिकार नपाएसम्म संघर्ष जारी रहने उनको भनाइ थियो ।  

भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तिकरण, सरसफाइजस्ता अभियान थालेको उनले बताए । विकासका सवालमा प्रदेश–२ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो ।  

प्रकाशित: ६ आश्विन २०७८ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App