७ वैशाख २०८१ शुक्रबार
राजनीति

'दाेलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहार'

जिल्लाका पेशाकर्मी र व्यवसायी नेपाली कांग्रेसको आसन्न अधिवेशनबाट सक्रिय राजनीतिमा जोडिन थालेका छन्।  

दोलखामै काम गरिरहेका र जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा ख्याती कमाएका पेशाकर्मीदेखि व्यवसायीसम्मले आसन्न जिल्ला अधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न आकांक्षा राख्दै उम्मेद्वारी घोषणा गरेका छन्।  

उनीहरु मध्ये अधिकांशको तयारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देखिएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखाबाट एक जिल्ला सभापतिसहित २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिदैछन्। २५ जनामा आकांक्षी थुप्रै छन्। उनीहरु मध्ये कांग्रेसको सक्रिय राजनीतिमा होमिएका र पहिलो पटक निर्वाचन लड्दै गरेका पेशा व्यवसायी समेत सक्रिय पार्टी राजनीतिमा जोडिन थालेकाको बिषयले कार्यकर्ताभित्र चर्चा छाएको छ। जिल्लामा पहिलोपटक केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिन लागेकाहरु बढी चर्चाको शिखरमा छन्। नेतृत्वमा पुग्न आकांक्षा राख्ने प्रायः पेशाकर्मी र व्यवसायीले महाधिवेशन प्रतिनिधि पदमा आकांक्षा राखेका छन्।

दोलखाको भीमेश्वर नगरपालिका १ सुष्पा क्षमावती घर भएका पत्रकार अजय बाबु शिवाकोटीले गृह जिल्लाको कांग्रेस पार्टी मार्फत सक्रिय राजनीतिमा लाग्ने घोषणा गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। नेपाल प्रेस युनियनका महासचिव समेत रहेका उनी हाम्रा कुरा डटकम अनलाईनमा आवद्ध छन्। प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरण र तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्डको टेप प्रकरण पर्दाफास गरेका कारण उनी चर्चामा आएका थिए। २०४८ सालमा नेविसंघको जिल्ला अधिवेशनमा भाग लिएका उनी राजधानी प्रवेशसंगै पत्रकारितामा सक्रिय थिए।  

यस्तै टेलिभिजनकर्मी एवं प्रख्यात अन्तर्वार्ताकार जगदिश खरेल समेत कांग्रेसको सक्रिय राजनीतिमा जोडिदै कालिञ्चोक गाउँपालिका ७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका छन्। ईमेज च्यानलमा कार्यरत उनी टेलिभिजन अन्तर्वार्तामा चर्चित छन्। महाधिवेशन प्रतिनिधिको चर्चा रहेपनि खरेलले भने हालसम्म कुन पदमा उठ्ने भनेर सार्वजनिक घोषणा गरेका छैनन्। यद्यपि उनी समेत महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्न सक्ने अनुमान गरिएको छ। नागरिकन्युजसंगको कुराकानीमा उनले आफूले छिट्टै आफ्नो उम्मेद्वारी घोषणा गर्ने सुनाए।  

व्यवसायी प्रभुराम श्रेष्ठले समेत जिल्लाबाट सक्रिय राजनीतिमा होमिने गरी तयारी थालेका छन्। खैनी, गुट्खासहितको व्यवसायमा एकछत्र राज जमाएका श्रेष्ठको होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, कार्पेट, टेलिभिजन लगायत बिभिन्न क्षेत्रमा लगानी छ। दोलखा कांग्रेसभित्र यसअघि विपद् व्यवस्थापन समिति बनाएर कार्यकर्ताहरुलाई परेको विपत्ति र समस्यामा संस्थागत रुपमै सहयोग अभियान चलाउँदै आएका श्रेष्ठ विपद् व्यवस्थापन समिति संयोजक बनेर काम गरेका कारण चर्चामा छन्। श्रेष्ठ भीमेश्वर नगरपालिका ३ चरिकोट बजारबाट प्रतिनिधित्व गर्छन्।  

यस्तै २०१९ की मिस पर्यटन समेत रहेकी छिरिङ डोल्मा शेर्पा समेत महाधिवेशन प्रतिनिधिको तयारी गर्दैछिन्। विगु गाउँपालिका १ लामावगरबाट प्रतिनिधित्व गर्ने उनी राजधानीमा विद्यालय चलाउँछिन्। आफ्नो छिरिङडोल्मा फाउण्डेसन मार्फत समाजसेवामा समेत सक्रिय शेर्पाले महिला तर्फको आदिवासी जनजाती आरक्षणमा महाधिवेशन प्रतिनिधि उठ्ने घोषणा गरेकी छिन्।  

भीमेश्वर नगरपालिका ६ का बालकृष्ण थापा समेत पहिलोपटक महाधिवेशन प्रतिनिधि पदमा चुनाव लड्दैछन्। उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका थापा पार्टीमा शैलुङ गाउँपालिका ४ बाट प्रतिनिधित्व गर्छन्। उनले खुला तर्फको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।  

वैत्यश्वर गाउँपालिका १ की २९ वर्षीया रचना उप्रेतीले समेत महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गरेकी छिन्। महिला तर्फ (खस आर्य) आरक्षण कोटामा उम्मेद्वारी दिने घोषणा गरेकी उनी अधिवक्ता हुन्। राजधानीमा ल फर्ममा कार्यरत उनी क्याम्पस समेत पढाउँछिन्।  

तामाकोसी गाउँपालिका ३ जफेकी मेनुका पोखरेल समेत पहिलोपटक महाधिवेशन प्रतिनिधि लड्दैछिन्। अधिवक्ताको तयारी गरिरहेकी पोखरेल राजनीतिमा सानै उमेरदेखि सक्रिय छिन्। उनले खुला महिला तर्फ उम्मेद्वारी दिने घोषणा गरेकी छिन्।  

पहिलोपटक महाधिवेशन प्रतिनिधिमा हाम फाल्दै जिल्लाका नयाँ अनुहार

जिल्लाको राजनीतिमा लामो समयदेखि सक्रिय रहेकाहरु समेत पहिलोपटक महाधिवेशन प्रतिनिधिमा निर्वाचन लड्दैछन्। जिल्ला सचिव सन्तोष रिमाल पहिलोपटक खुला तर्फको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिँदैछन्। क्षेत्र नं २ का सभापति जयराम श्रेष्ठ समेत पहिलोपटक महाधिवेशन प्रतिनिधिमा निर्वाचन लड्दैछन्। नेविसंघ पूर्व जिल्ला अध्यक्ष राकेश श्रेष्ठ, पार्टीका क्षेत्रीय सचिव भुवन केसी, नेताहरु आङपासाङ शेर्पा, दामोदर कार्की, हस्त थामी, अमृत जिरेल, सुरेन्द्र प्रधानसहितले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन्। यस्तै चरिकोटकी व्यवसायी भगवती शाही, नेतृहरु उर्मिला कार्की, लिलादेवी जिरेल, निशा जिरेल, लेमु दाहालले समेत पहिलोपटक महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।  

पुराना सबैको निरन्तरता

यसअघि केन्द्रीय महाधिवेशन प्रतिनिधि रहिसकेका नेताहरु प्रायः सबैले महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। सांसद एवं पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामा, पूर्व पार्टी सभापति ताराबहादुर कोईराला, उद्धवराज काले, नेताहरु ईश्वरनारायण मानन्धर, कुन्दनराज कालेले महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। यस्तै १३ औं महाधिवेशनका प्रतिनिधिहरु बाबुकाजी बस्नेत, गिता शिवाकोटी, बिनिता अधिकारी, कुलराज थापा, च्याङा शेर्पा, आङनिमा शेर्पा,चेतबहादुर विक, केन्द्रबहादुर सुनुवार लगायत महाधिवेशन प्रतिनिधिमै प्रतिष्पर्धा गर्दैछन्।  

झुले गाउँका भवेन्द्र कार्की, भुषाफेदा गाउँका नेता कुमार अधिकारी, बाबरे गाउँका युवा नेता सन्तोष पाण्डे, गैरीमुदी गाउँका युवा नेता गौरव लामा, लामावगर गाउँका खुबराज आचार्य, पवटी गाउँकी नेतृ तारा थपलिया, शहरेकी नेतृ सिर्जना सुवेदी लगायत महाधिवेशनमा प्रतिष्पर्धा गर्दैछन्। यस्तै वैत्येश्वरका राजु उप्रेती, कृष्ण केसी, कालिञ्चोकका गोपी शिवाकोटी, सुन्द्रावतीका सिताराम शाही ठकुरी महाधिवेशनमा प्रतिष्पर्धा गर्दैछन्।

प्रकाशित: ५ आश्विन २०७८ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App