१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनः आम निर्वाचनकै झल्को

विराटनगर स्थित जिल्ला पार्टी कार्यालयमा नेता कार्यकर्ताहरू । तस्बिरः विनोद/नागरिक

मोरङमा नेपाली कांग्रेको महाधिवेशनको चहलपहल बढेको छ। महाधिवेशन अन्तर्गत वडा अधिवेशनको अघिल्लो दिन विराटनगर स्थित जिल्ला पार्टी कार्यालयमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ।  

पार्टी कार्यालयमा मात्रै हैन विराटनगरका सडकमा झुण्ड बनाएर उम्मेद्वारहरू भोट माग्दै गरेको भेटिन्छ। क्रियाशील सदस्यहरूको घर-घरमा पुगेर भोट माग्ने मात्रै हैन उम्मेद्वारहरूले सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गरिरहेका छन्। यतिमात्रै हैन सडक किनाराका पर्खालहरूमा फ्लेक्स् नै झुण्ड्याएर पनि कतिपय उम्मेद्वारहरूले प्रचारप्रसार गरिरहेको देखिन्छ।    

पछिल्लो पटक उल्लेख्य रुपमा थप गरिएको नयाँ क्रियाशील सदस्यका कारण महाधिवेशनको रौनक अझै बढेको छ। धेरैजसो क्रियाशील सदस्य नै नचिनेर भोट माग्नसमेत समस्या भएको उम्मेद्वारहरूको गुनासो छ। यतिमात्रै हैन क्रियाशील सदस्य बढेसँगै चुनावको परिणामको पूर्व अनुमानसमेत गर्न गाह्रो भएको छ। तर, नयाँ क्रियाशील सदस्यहरूको मत नै यो अधिवेशनको निर्णायक मत भएको प्राध्यापक टुनराज भट्टराई बताउँछन्।  

उनले भने, ‘नयाँ बनेका क्रियाशील सदस्यहरू विशेषगरी युवाहरूको मत नेतृत्व चयनका लागि निर्णायक देखिन्छ।’ युवाहरू नै क्षेत्रीय प्रतिनिधिका उम्मेद्वारहरू पनि धेरै देखिएकाले विगतमा भन्दा यो अधिवेशनमा फरक परिणाम आउने सम्भावना देखिएको छ। भट्टराईका अनुसार विशेष गरी युवाहरू अब, कांग्रेसमा हावी हुने र युवाहरूको सक्रियताले कांग्रेसमा नयाँ उर्जा थपिने देखिन्छ। कांग्रेसमा वडा अधिवेशनबाट चुनिने  क्षेत्रीय प्रतिनिधिहरूलाई गाउँ, नगर, जिल्ला, क्षेत्र र केन्द्रीय प्रतिनिधि चयन गर्ने अधिकार भएका कारण वडा अधिवेशनलाई केन्द्रीय नेताहरूले समेत विशेष चासोका साथ हेर्ने गरेका छन्।  

कांग्रेसको महाधिवेशन नजिकिएसँगै प्रदेश १ को राजधानी र कांग्रेसको उद्गम स्थलसमेत रहेको विराटनगरमा आम निर्वाचनको झल्को दिने गरी नेताहरू भोट माग्न र कार्यकर्ता फकाउन तल्लीन हुन थालेका छन्। मोरङमा असोज ५ गते वडा अधिवेशन हुँदैछ। असोज ५ गते उम्मेद्वारी दर्ता हुने र ६ गते निर्वाचन हुने कार्यतालिका छ।    

केन्द्रमा आफू बलियो बन्न वडास्तरबाटै आफ्नो पक्षका धेरै उम्मेद्वार जिताउनु पर्ने भएकाले केन्द्रीय नेताहरू समेत वडा अधिवेशनमा आफ्ना पक्षका क्षेत्रीय प्रतिनिधि जिताउन सक्रिय रुपमा लागेका छन्। नेतैपिच्छेका गुटका कारण कार्यकर्ताहरू भने अलमलमा देखिएका छन्। तर, उनीहरू गुट नभई व्यक्ति हेरेर मतदान गर्ने सोचमा देखिएका छन्।  

‘कसको मान्छेभन्दा पनि कस्तो मान्छे भन्ने हामीले ख्याल गर्नुपर्छ’, विराटनगर १ की निर्मला कोइरालाले भनिन्। कांग्रेसको भविष्यसँग जोडिएको पार्टीको नेतृत्व महाधिवेशनले चयन गर्ने भएकाले कार्यकर्ताहरू निश्पक्ष रुपमा पार्टीको सिद्धान्त अनुसार काम गर्ने नेताको खोजीमा लागेका छन्।  

कसैप्रति पनि भेदभाव नगर्ने निश्पक्ष रुपमा काम गर्ने नेतृत्व नेपाली कांग्रेसलाई आवश्यक रहेको अगुवा कार्यकर्ता पंकज वर्माले बताए। उनले यो अधिवेशनले निश्पक्ष रुपमा काम गर्ने मजबुद र युवा नेतृत्व जन्माउने दाबी गरे। कतिपय पुराना नेताहरू नयाँ थपिएका क्रियाशील सदस्यहरूले आफूहरूलाई क्षेत्रीय प्रतिनिधिमै हराउने हुन् की भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्।  

‘आफूहरू नयाँ क्रियाशीललाई नचिन्ने र उनीहरू पनि आफूहरूलाई नचिन्ने र पार्टीमा हाम्रो योगदान पनि थाहा नपाउने भएकाले वडामै हराउने हुन् की भन्ने चिन्ता छ’, मोरङका एक पुराना नेताले भने।  

मोरङमा नेपाली कांग्रेसका १४ हजार ५ सय जना नयाँसहित ३० हजार ७ सय क्रियाशील सदस्य छन्। ती सदस्यहरुबाट करिब ३ हजार क्षेत्रीय प्रतिनिधि मोरङमा निर्वाचित हुनेछन्। निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूले गाउँ, नगर, जिल्ला महाधिवेशन प्रतिनिधिलगायतका पदाधिकारीहरू चयन गर्नेछन्। विधान अनुसार १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तिमा ३ जना महिलासहित ९ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नेछ।  

१५० भन्दा बढी क्रियाशील सदस्य भएको अवस्थामा बढीमा ७५ को सीमाभित्र रही प्रति एक सय थप क्रियाशिल सदस्यमा २ महिलासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ। महिला, दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट (क) बमोजिम प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुईतिहाई संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा तोकिए बमोजिम प्रतिनिधि निर्वाचित हुनेछन्।

प्रकाशित: ४ आश्विन २०७८ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App