१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सवारी साधनका लागि सीमानाका खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री देउवासमक्ष समस्या राख्दै होटेल ब्यवसायी । तस्बिरः रितेश त्रिपाठी

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आवागमन बन्द रहेको भारतीय सवारी साधन समेत खुल्ला गर्ने गरी साबिक रुपमा सीमानाका खुल्ला गर्न सकारात्मक रहेको बताएका छन्। होटेल तथा पर्यटन ब्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसंग सोमबार सिंहदरवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।  

देशको कुल आर्थिक वृद्धिमा उल्लेखनीय योगदन पुर्याएको, हजारौंलाई रोजगारी प्रदान गरेको र अर्बौं रुपैयाँ लगानी भएको होटल तथा पर्यटन क्षेत्र अहिले नराम्ररी प्रभावित भएको भन्दै ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र आफूहरुले बुझाएको संघका अध्यक्ष हरि पन्तले बताए। तथ्यांकका अनुसार नेपालमा सबैभन्दा बढी आउने पर्यटक भारतीय नै हुन्। सामान्यतया स्थलमार्ग भएर आउने ति भारतीय पर्यटकमाथि नेपालको दक्षिणी सीमाक्षेत्रमा रहेका सम्पूर्ण होटेल, रेष्टुरेन्ट र सबैखाले पर्यटकीय गन्तब्यहरु ७० देखि ८० प्रतिशत निर्भर रहेका छन्।  

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्णय अनुसार २०७६ चैत ११ गतेदेखि बन्दाबन्दीसंगै सीमामा आवागमनमा समेत रोक लगाइएको थियो,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनमा उल्लेख गरिएकाे छ, ‘महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु हाल आएर अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि सीमानाकाबाट भारतीय तथा तेस्रो मुलुकबाट आउने ‘कार्गो’ बाहेकका सवारी साधनहरुको आवागमनमा रोक भने डेढ वर्षदेखि कायमैं छ। यसले गर्दा भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटकहरु आउन छोडेका छन्।’ 

प्रतिनिधिमण्डलको अगुवाई गरेका काँग्रेस नेता एवं संविधानसभा सदस्य अनिल रूंगटाले भारतीय सवारी प्रवेश रोकको परिणामस्वरुप वीरगन्ज आसपासको क्षेत्रमा मात्रै रहेका २ सयभन्दा बढी होटलहरुले संचालन खर्च पनि धान्न गाह्रो भएको, त्यहाँ हजारौं संख्यामा रहेको रोजागरी पनि समाप्त हुने अवस्था आएको र अर्बौंको लगानी डुब्ने अवस्थामा पुगिसकेको बताए।  

प्रधानमन्त्री देउवाले ब्यवसायीहरुको माग सकारात्मक भएको र चाँडै उचित निर्णय लिइने बताएका थिए। पछिल्लो समयमा सीमानाकाबाट दैनिक हजारौं संख्यामा सर्वसधारणहरुको निर्वाध रुपमा पैदल आवतजावत भइरहेको अवस्थामा भारतीय पर्यटकीय सवारी साधन मात्र नचल्दा पर्यटकको रुपमा आउने ब्यक्तिहरुको आगमन बन्द रहेको होटेल ब्यवसायी महासंघका केन्द्र उपाध्यक्ष इच्छाबहादुर वाग्लेले सुनाएका थिए। मानिसबाट सर्ने कोरोना भाइरसको रोकथामका लागि भनेर गाडिलाई मात्र रोकेर हजारौं मानिसहरुलाई भने निर्वाध आवतजावत गर्न दिने कुराको कुनै वैज्ञानिक आधार नरहेको होटेल ब्यवसायी बताउँदै आएका छन्। 

भारतबाट पर्यटकीय महत्व भएका पाहुनाहरु नेपाल आउन रोकिएर होटेल तथा पर्यटन ब्यवसाय क्षेत्र धारासायी भएकोले आफूहरु प्रधानमन्त्रीसमक्ष समस्या राख्न आइपुगेको वीरगन्जको कलार्कस रिसोर्टका संचालक सुनिल खेतानले प्रतिक्रिया दिए। उनका अनुसार होटेल ब्यवसायीका समस्याप्रति प्रधानमन्त्री सकारात्मक देखिएका थिए। 

‘सीमा नाकाबाट आवश्यक स्वास्थ्य मापदण्ड अपनाई भारतीय सवारी साधनहरुको आवागमन तत्कालै खुल्ला गरी भारतीय पर्यटक भित्रिने वातावरण निर्माण गरियोस’, ज्ञापनमा माग गरिएको थियो।

प्रकाशित: ४ आश्विन २०७८ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App