८ वैशाख २०८१ शनिबार
राजनीति

निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताएका हुन्। 

उनले भने, 'कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन। सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो। यसभन्दा तलमाथि गर्नुहुँदैन।' 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कर्मचारी नियम कानुनबाट निर्देशित हुनुपर्ने बताए। 'कर्मचारीको काम देश र जनताका सेवा गर्ने हो। कानुनको परिधिमा रहेर सक्रियताका साथ गर्नुपर्दछ,' उनले भने, 'कुन पार्टीको सरकार छ भन्ने होइन। सरकारलाई सहयोग गर्नुपर्दछ।'

उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताए। उनले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राखे।  

अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताए। उनले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राखे।

प्रकाशित: २ आश्विन २०७८ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App