१५ चैत्र २०८० बिहीबार
राजनीति

नेमकिपाका कार्यकर्तालाई लोभमा फसाएर सिद्धान्तच्युत बनाउने काम भइरहेको छ : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) पार्टी कार्यकर्तालाई अनेकौं लोभमा फसाउने गरेको बताएका छन्।  

नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका एकाई समितिको आयोजनामा ‘भक्तपुर काण्ड र वर्तमान समसामयिक राजनैतिक विषय’ मा भएको कार्यक्रममा उनले आफ्नो पार्टी कार्यकर्ताहरुलाई लोभमा फसाएको बताउँदै कर्मचारीहरुलाई पूँजीवादी विचारबाट जोगाउनुपर्ने बताए।

कर्मचारीहरुलाई पुँजीवादी प्रवृत्तिबाट टाढा राख्नुपर्ने र कर्मचारीहरु जनताको निःस्वार्थ सेवा गर्ने भावनाबाट प्रेरित हुनुपर्ने बताउँदै उनले जनताको बीचमा गएर सेवा गर्ने र श्रमिक जनतालाई पुँजीवादी विचारबाट जोगाउने नीति नै लेनिनवादी नीति भएको  चर्चा गरे।

नेपालमा पञ्चायती व्यवस्था अन्त्य गर्न भक्तपुरले ठूलो योगदान दिएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पञ्चायती शासकहरुबाट भएका दमन, षड्यन्त्र अगाडि नेमकिपाका नेता कार्यकर्ता कहिल्यै नझुकेको स्मरण गर्दै शासक दलहरुले नेमकिपाका कार्यकर्ताहरुलाई अनेक लोभमा फसाएर सिद्धान्तच्युत बनाउने काम गरिरहेको समेत बताए। उनले राजनीतिक कार्यकर्ता तथा कर्मचारीहरु राजनीतिक अडानमा बस्नुपर्नेमा समेत जोड दिए।

कर्मचारीहरुले आफ्नो स्तरवृद्धिमा ध्यान दिनुपर्ने, समयसापेक्ष तालिमहरु लिनुपर्ने र नयाँ नयाँ विषयहरुको अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलन, भारतले सुस्तामा गरेको अतिक्रमणको विरोधलगायतका गतिविधि गरी नेमकिपाले देश र जनताको पक्षमा आवाज उठाउँदै आइरहेको बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डलाई पञ्चायती सरकारको असफल राजनीतिक षड्यन्त्रको रुपमा चित्रण गरे।

प्रकाशित: १६ भाद्र २०७८ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App