८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा महाधिवेशन चटारोः निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले सम्पर्क कार्यालय खोल्न थालेका छन्।कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार नयाँबानेश्वरको थापागाउँमा महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन्। 

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे। यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन्। केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन्। निधिले सम्पर्क कार्यालय उद्घाटन अलि फरक किसिमबाट गरेका छन्। उद्घाटन गर्नुअघि पशुपतिनाथ मन्दिरका मूल भट्टका प्रतिनिधि, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूले सम्पर्क कार्यालयमा पूजापाठ गरेका थिए। निधिले ती पुजारी तथा पण्डितबाट आशीर्वाद लिएर सम्पर्क कार्यालय उद्घाटन गरेका थिए। त्यस अवसरमा पण्डित तथा विभिन्न मन्दिरका पुजारीले मन्तव्य पनि राखे।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम राजनीतिक भए पनि धार्मिक अनुष्ठानजस्तो देखिन्थ्यो। निधिले रुद्राक्ष र सयपत्रीको माला लगाएका थिए। आफूलाई विभिन्न शक्तिपीठका पुजारी र धार्मिक गुरूहरूले आशीर्वाद दिएको उनले बताए। उनले धार्मिक गुरु कमलनयनाचार्यसँग पनि आफूले आशीर्वाद लिएको सुनाए। कार्यक्रममा उनले नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने पनि बताए।

सभापतिमा आफ्नो उम्मेदवारी कसैलाई हराउन वा कसैलाई अक्षम देखाउन नभएको निधिले बताए। आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफू सभापति बन्न चाहेको उनको भनाइ थियो। निधिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट भनेर चिनिएका नेताहरूको पनि उपस्थिति थियो।

देउवाको गृहजिल्ला डडेलधुराका कांग्रेस सभापति कर्ण मल्ल, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीलगायत त्यहाँ उपस्थित थिए। प्रदेश २ सरकारका मन्त्री रामसरोज यादव पनि कार्यक्रममा उपस्थित थिए। शिव चौधरी, मीनाक्षी झा, स्मृतिनारायण चौधरी, पूर्वसांसद प्रेमकिशोर यादव, नरेश यादवलगायत नेताहरू पनि उपस्थित थिए।

निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि सभापति देउवासँग उनको सम्बन्ध पहिले जस्तो सुमधुर छैन। पहिला देउवा खेमामा रहेका निधिले महाधिवेशनमा चुनावी तालमेलका लागि पार्टी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमानसिंहलगायतसँग पटकपटक छलफल गरिसकेका छन्।

कांग्रेस नेता रामचन्द्र पौडेलले पहिले नै अनामनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन्। १३ औं महाधिवेशनमा पनि पौडेलले सोही ठाउँमा सम्पर्क कार्यालय खोलेका थिए। १३औं महाधिवेशनमा उनी सभापतिको उम्मेदवार थिए। यसैगरी १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका कृष्ण सिटौलाले १४औं महाधिवेशनका लागि गौशालामा सम्पर्क कार्यालय खोलेका छन्। सिटौलाका सहयोगी किरन सिटौलाका अनुसार गत चैत १ गतेदेखि नै गौशालामा सम्पर्क कार्यालय खोलिएको हो। 

एक/डेढ वर्षअघि महाराजगगन्जमा खोलिएको सम्पर्क कार्यालयलाई चैत १ गते गौशालामा सारिएको किरणले बताए। कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन्। सहयोगी युपी लामिछानेका अनुसार सिंहले प्रतिनिधिसभाको चुनावमा मतदातासँग सम्पर्क गर्न नयाँबानेश्वरमा कार्यालय खोलेका थिए। सोही ठाउँमा महाधिवेशनका लागि पनि सम्पर्क कार्यालय खोलेका सिंहले अहिले नेता तथा कार्यकर्तासँग भने क्षेत्रपाटीस्थित निवासबाटै भेटघाट गर्दै आएको लामिछानेले बताए।

त्यस्तै १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका शेखर कोइरालाले अनामगनर र विशालनगरमा दुईवटा सम्पर्क कार्यालय खोलेका छन्। अनामनगरमा खोलिएको कार्यालयले नपुगेर विशालनगरमा खोल्नुपरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले बताए। १३औं महाधिवेशनका बेला कोइरालाले अनामनगरमा सम्पर्क कार्यालय खोलेका थिए।

प्रकाशित: १२ भाद्र २०७८ ००:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App