१६ चैत्र २०८० शुक्रबार
राजनीति

सुदूरपश्चिममा रावललाई धक्का!

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँड पनि उनकै चहाना बमोजिम हुन्थ्यो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेका रावलले माधवकुमार नेपालको साथ छोडेर एमाले पार्टीमै बस्ने निर्णय गरेपछि रावललाई उनकै पकड भएको मानिएको सुदूरपश्चिम प्रदेशमै ठूलो धक्का लाग्ने माहोल बनेको छ। रावलका विश्वासपात्र नेता र सासंदहरु उनको साथ छोडेर नेपालको नवगठीत नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन्। सुदूरपश्चिम प्रदेश सभामा एमालेबाट निर्वाचित २५ प्रदेश सभा सदस्य हुन्। विगतमा सभामुखबाहेक २४ सासंद मध्य १७ जना नेपाल पक्ष र ७ जना ओली पक्षमा थिए। 

नेपाल पक्षमा रहेका १७ जना नै रावल निकट थिए। १७ जना मध्य अधिकांस सांसद रावलको साथ छोडेर नेपालको पक्षमा देखिएका छन्। आफ्नै विश्वासपात्र र निकट मानिएकाले साथ छोडेर नेपालको पक्षमा उभिएपछि रावललाई धक्का महसुस भएको छ। ‘हिजोका दिनमा नेपाल समूहमा रहेका अधिकांस हामी अहिलेसम्म नेपाल तिर नै हो’, एमाले प्रदेश सभाका सदस्य तारालामा तामाङले भने, ‘अझै छलफल चलिरहेकोले दुई/तीन दिनमा सबै स्पष्ट हुने छ।’ अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ३ सासंद मात्र नेपालको साथ छोडेर रावलको पक्षमा खुलेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ४ मन्त्री र ३ जना राज्यमन्त्री मध्य आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह मात्र रावलको पक्षमा खुलेका छन्। यसैगरि सांसद हर्क कुँवर रावलको पक्षमा उभिएमा छन् भने सासंद प्रकाश बहादुर रावल पनि रावलको पक्षमा उभिने संकेत गरेका छन्। केही सासंद अझै कतैतिर खुलेका छैनन्। 

हिजाका दिनहरूमा ओलीको कटु बिरोध गर्ने रावललाई नेता मान्नेहरु रावलले कित्ता परिवर्तन गर्दा समस्यामा परेको बताउँछन्। ‘हामीले अभिभावक र नेता मानेको रावललाई नै हो, अहिले रावलका कारण हामीलाई नैतिक संकट परेको छ’, एक सासंदले भने,‘रावलको सम्मानका लागि हामीले धेरै टिकाटिप्पणी गर्ने पक्षमा छैनौ तर दुई तिहाईको जनमतको अपमान गर्ने ओली टिमको पार्टीमा रहन हामी असमर्थ छौं।’ अझै पनि हाम्रो हिजोको टिमको नेता रावल भएकाले हामी एकै ठाउँमा रहने अवस्था होस भनेर छलफल भैरहेको उनले बताए।

अधिकांस सांसद नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीतर्फ रहेको सांसद अमर साउदले बताए। ‘हामी सभामुखबाहेक २४ जना सांसदमा बढी सांसद एकीकृत समाजवादीमा हुने छौं’, उनले भने,‘अहिले एकीन भन्न नसकिएपनि १ जना बढी भएपनि हामी हुने पक्का छ।’

रावलका विश्वासपात्र पूर्वमन्त्री माया भट्ट, एमाले कैलालीका अध्यक्ष तथा भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, पूर्वमन्त्री कृष्णराज सुवेदीले पनि रावलको साथ छोडेर नेपालको पक्षमा उभिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि नेपालको पक्षमा खुलेकी छन्। भट्ट र जोशी नयाँ पार्टीको केन्द्रीय सदस्य बनेका छन्। रावलको गृहजिल्ला अछामका बलबहादुर सोडारीले उनको साथ छोडेका छन्। रावलकै निर्देशनमा सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले स्थायी कमिटीको निर्देशन विपरित माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेका १७ जना सांसदले विश्वासको मत दिएका थिए।

नेकपा एमाले स्थायी कमिटीको बैठकले जेठ १० गते प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय विपरित रावलकै निर्देशनमा जेठ १२ गते नेकपा एमाले प्रदेश सभा संसदीय दलको बैठकले सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको थियो। भने जेठ १४ गते एमालेका २ मन्त्री फिर्ता बोलाएर ३ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो। सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जसपाका २ सांसद छन्।

यसैगरि, संघीय सांसदमा कैलाली निर्वाचन क्षेत्र २ का सांसद झपट रावलले मात्र रावललाई साथ दिएका छन्। अध्यक्ष ओलीको कटु आलोचक मानिएका रावलले अन्तिम अवस्थामा आएर आफ्नो राजनीतिक दाउ हेरेर नेपालको साथ छोडेको भन्दै उनी निकटले असन्तुष्टी जनाएका हुन्।  

प्रकाशित: ११ भाद्र २०७८ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App