coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले फुटको असर : प्रदेश १ को सरकार संकटमा

नेकपा एमाले फुटेसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा  एमालेको बहुमतको सरकार छ । तर, पार्टी फुटेसँगै शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो ।  

नेकपा एमाले  औपचारिक रुपमा फुट्ने निश्चित भएसँगै प्रदेश १ को सरकारले चालु संदस अधिवेशन अन्त्य गरेको थियो । संसद बैठक सञ्चाल भइरहे यहि अधिवेशनमा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतार हतार संसद अधिवेशन अन्त्य गरेको प्रतिपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् । प्रदेश १ का प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएकाले केहि दिन भएपनि सत्तामा रहन र फाइलहरू मिलाएर भ्रष्टाचार ढाँकछोप गर्न सरकारले हतार–हतार प्रदेश सभा अधिवेशन अन्त्य गरेको बताएका छन् । उनले प्रदेश १ मा दशैं अघि नै नयाँ सरकार गठन हुने ठोकुवा गरेका छन् । उनले भने, ‘शेरधन राई नेतृत्वको सरकार अब, धेरै दिन नटिक्ने निश्चित भएकाले दशैं अघि नै नयाँ सरकार गठन हुन्छ ।’  

कार्कीले प्रदेश १ मा गठबन्धनकै सरकार बन्ने दाबी पनि गरे । उनले भने‘एमालेको सरकार ढलेपछि नयाँ सरकार काँग्रेससहितको गठबन्धनको बन्नेछ ।’ यता नेकपा एमालेका नेताहरू भने तत्कालै सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन् । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तत्काल सरकार ढल्ने अवस्था नरहेको बताए । एमालेबाट फुटेर गएको एमाले समाजवादीमा प्रदेश १ का ५ जना सांसद पनि जाने अवस्था नरहेकाले तत्कालै प्रदेश १ को सरकार ढल्ने अवस्था नरहेको उनले बताए । तर, एमालेका ५ जनामात्रै सांसद समाजवादीतर्फ लागेमा भने वर्तमान सरकार संकटमा पर्ने उनको भनाई छ । 

राजभण्डारीले भने, ‘पार्टीमा सांसद तानातान भइरहेकाले कति सांसद कता लाग्छन् भन्ने निश्चित नभई  सरकार रहन्छ वा रहँदैन भन्न सकिने अवस्था छैन ।’ यतिबेला प्रदेश १ मा धेरै सांसद आफ्नो पक्षमा पार्न एमालेका दुबै समूह सक्रिय छन् । प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा एमाले समाजवादी, नेकपा माओवादी, जनता समाजवादी पार्टी एकातर्फ छ भने अर्को तर्फ नेकपा एमाले छ । प्रदेशसभामा हाल नेकपा एमालेका ५२ सांसद छन् । नेपाली कांग्रेसका २१, नेकपा माओवादीका १५, जनता समाजवादीका ३ जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद छन् । नेकपा एमालेका ५२ जना सांसद मध्ये १५ जना सांसद आफ्नो पक्षमा रहेको नेकपा एमाले समाजवादीका नेताहरूले बताउँदै आएका छन् । तर, नेकपा एमालेका ५ जना भन्दा बढी सांसद एमाले समाजवादीतर्फ लागे शेरधन राई नेतृत्वको सरकार ढल्ने भएकाले सरकार पक्षका नेताहरू साँसदहरूलाई आफ्नै पक्षमा राख्न तल्लीन छन् ।  

नेकपा एमाले समाजवादीमा कति सांसद हुन्छन् भन्ने निश्चित भएपछि मात्रै सरकार बन्ने भएकाले पनि प्रदेश १ मा औपाचारिक रुपमा सरकार गठनबारे दलहरूवीच छलफल सुरू नभएको विपक्षी गठबन्धनका  नेताहरूले बताएका छन् । एमालेका कति सांसद समाजवादाी तर्फ लाग्छन् भन्ने निश्चित भइनसके पनि दलहरूवीच आन्तरिक र अनौपचारिक छलफल भने सुरू भइसकेको छ । प्रदेश १ मा सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि अझैसम्म टुंगो लागि नसकेको विपक्षी गठबन्धनका नेताहरू बताउँछन् । हाल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, नेकपा एमाले समाजवादीतर्फका सांसद राजेन्द्र राई, नेपाली काँग्रेसकै हिमाल कार्की र नेकपा एमालेका भीम आचार्यको नाम चर्चामा छ । 

नेपाल समूहमा रहेका नेता आचार्य मुख्यमन्त्री बन्नाउने आश्वासन पाएपछि ओली समूहमा लागेको आरोप लाग्ने गरेको छ । प्रदेश ३ मा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा  सरकार गठन गरेकै दिन प्रदेश १ मा पनि भीम आचार्यको नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक तयारी  थियो । तर, सरकार धेरैदिन नटिक्ने आँकलन गरी भीम आचार्यको नेतृत्वमा सरकार गठन नभएको एमाले स्रोतले जनाएको छ । सत्तारुढ एमाले र विपक्षी गठबन्धन दुबै पक्षले नेकपा समाजवादीको तर्फमा जाने सांसदहरूको निर्णय पर्खेर बसिरहेको नेताहरू बताउँछन् । कति सांसद एमालेको समाजवादी तर्फ जान्छन् भन्ने विषयले नै प्रदेश १ को आगामि राजनीतक यात्र तय हुने देखिएको छ ।  

सरकार गठन निश्चित नहुँदै काँग्रेसमा खटपट  

विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बन्ने निश्चित नहुँदै काँग्रेसमा खटपट सुरू भएको छ । कांग्रेस संस्थापन पक्ष र कोइराला पक्षका नेताहरू वीच सरकारको नेतृत्व गर्ने विषयमा खटपट सुरू भएको स्रोतले जनाएको छ । प्रदेश १ मा नेपाली काँग्रेसको संसदीय दलको नेता  राजीव कोइराला छन् । काँग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा कोइराला नै मुख्यमन्त्री हुने निश्चित छ । तर, संस्थापन पक्षका नेताहरूले कोइरालाई नभई उदयपुरका सांसद हिमाल कार्कीलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने तयारी गरिरहेको स्रोतको दाबी छ । 

यता, काँग्रेस सांसद हिमाल कार्कीले भने आफू मुख्यमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘म मुख्यमन्त्रीको दौडमा छैन, कांग्रेसले मुख्यमन्त्री पाए संसदीय दलका नेता राजीव कोइराला नै मुख्यमन्त्री बन्नु हुन्छ ।’ कार्कीले मुख्यमन्त्रीको दाबेदार भन्दै आफ्नो बारेमा गलत हल्ला फैल्याइएको बताए ।

प्रकाशित: ५ भाद्र २०७८ १५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App