८ कार्तिक २०७८ सोमबार
राजनीति

बेपत्ता श्रीमानको मृत्यु दर्ता बोकेर न्याय खोज्दै द्वन्द्वपीडित

विगत १० बर्ष चलेको माओवादी सशस्त्र द्वन्द्वले आज पनि धेरैलाई भौतारिन बाध्य बनाइ रहेको छ। मृतक र बेपत्ता परिवार, घाइते, यौनहिंसामा परेका धेरै नागरिक न्याय र परिपुरणको अपेक्षामा यताउति दौडिन विवस छन्।

पछिल्लो समय युद्ध लड्ने र लडाउनेहरु आलोपालो सत्तामा पुगे पनि अनाहकमा मारिने र बेपत्ता पारिनेका परिवारहरुप्रति संवेदनशील बन्ने गरेका छैनन्। रोल्पा नगरपालिका १० धवाङकि ३८ वर्षीया अशकुमारी रोका दिपा यतिबेला बेपत्ता श्रीमान जीतमान रोका नवीनको मृत्यु दर्ता बोकेर न्याय र परिपुरणका लागि रोल्पा, दाङ, काडमाडौँ दौडिरहेकी छन्। बिहे गरेको छोटो समयमा २०६० साल मंसिर महिनामा कारागार पुगेकी ९० दिनपछि रिहाई हुँदा श्रीमानको अत्तोपत्तो थिएन।

२०६८ बैसाख २२ गतेको कारागार कार्यालय तुलसीपुरको च. नं. ५५८ को पत्रअनुसार अशकुमारी २०६०/०८/२४गते देखि २०६०/११/२६ सम्म बन्दीका रुपमा बसेको देखिन्छ। ‘हाम्रो बिहे पार्टीले नै गराइ दिएको हो। हामी दुवैजना युद्धमा थियौं। बिहे गरेको दुई महिनाको बीचमा एक हप्ता जति श्रीमानसँग बसेँ। त्यसपछि प्रहरीले पक्राउ गरेर मलाई तुलसीपुर कारागारमा ९० दिन राख्यो,’ अशकुमारीले सुनाईन्, ‘एक हप्ता जतिको श्रीमानसँगको बसाइमा गर्भ रहेको थियो। ९० दिन कारागार बसेर निस्किँदा श्रीमानलाई बेपत्ता पारिएको थियो।’

जेल मुक्त भएपछि अशकुमारीलाई काठमाडाँैस्थित कारितास र एबिसी नेपालले राख्यो। ५ महिनापछि उनले काठमाडौँमै बच्चा जन्माइन्। श्रीमान बेपत्ता पारिँदा गर्भमा रहेको छोराले अहिले ११ कक्षामा पढ्दैछ। दाङकी चौधरी परिवारकी छोरी अशकुमारीले न घर भन्न पाइन् न त श्रीमान। न्याय, राहत र परिपुरण कुन चराको नाम हो भन्ने थाहै नपाएकी उनी यतिबेला बेपत्ता श्रीमानको मृत्यु दर्ता बोकेर रोल्पा सदरमुकाममा भौंतारिरहेकी छन्।  

आफन्तको सहयोगमा अहिले दाङमा अटो चलाएर दैनिकी बिताइरहेकी उनीसँग मनमा पीडा बाहेक अरु केही छैन। विगतमा पटकपटक मृतक, बेपत्ताका परिवारलाई शान्ति मन्त्रालयमार्फत् राहतको प्याकेज आए पनि अशकुमारीको सोझो परिवारमा राहत पुगेन। हिजो उनीहरुलाई बन्दुक बोकाएर लडाउनेहरुले राहत पाउने बेलामा कुनै खबर पनि गरेनन्। टोलटोलमा रहेका जिल्ला स्तरका नेता भनिनेहरुले पीडितका परिवारलाई न्याय र राहतका लागि कुनै जानकारी नदिएको उनीहरुको गुनासो छ।

श्रीमान बेपत्ता भएपछि माइती गाउँ दाङतिरै बसाई सुरु गरेकी अशकुमारीले २०७३ साल बैसाख २१ गते स्थानीय शान्ति समिति दाङमार्फत् सत्य निरुपण तथा मेलमिलाप आयोगमा अपहरण शिर्षकमा उजुरी दिएकी छन्। त्यसैगरी मिति २०६८ बैसाख २९ गते जिल्ला प्रशासन कार्यालय दाङमा राहत पाउँ भनी निबेदन दिएकी थिइन्।  

आफन्तमार्फत् रुकुमका नेता कमला रोका र गणेशमान पुनलाई राजधानी पुगेर भेटी सहयोगको अपेक्षा गरे पनि कुनै सहयोग नपाएको उनको गुनासो छ। ‘रोल्पाली नेतासम्म पुग्न सकिनँ। माओवादी भएकै कारण म कारागार परेँ, श्रीमान बेपत्ता पर्नुभयो तर अहिले म र मेरो परिवारले न न्याय पायौं?, न त राहत पायौं? ’ २०६० सालमा भखैरै बिहे गर्ने उमेर पुगेकी अशकुमारीले २० वर्षको उमेरमा श्रीमान गुमाइन्। गर्भको छोरालाई जन्माएर एक्लै हुर्काउँदै गर्दा उनीसँग अन्य सबै मोह भंग भएको छ। मेहनत गरेर छोरा हुर्काई रहेकी उनको अन्तिम अपेक्षा न्याय र परिपुरण मात्र रहेको छ।

प्रकाशित: ३० श्रावण २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App