coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अध्यक्षबाट हटाइए ठाकुर

जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष पदबाट महन्थ ठाकुर हटाइएका छन्। जसपामा अब एकजना मात्र अध्यक्ष रहने व्यवस्था गरिएको छ। जसपाले निर्वाचन आयोगमा पठाएको अद्यावधिक सूचीलाई आयोगको किताबखानामा दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनकाअनुसार अद्यावधिक गरिएको सूचीमा जसपामा एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ। आयोगमा अद्यावधिक गरिएको सूचीमा ठाकुर र उनीनिकट राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, निर्जला राउत, चन्दा चौधरी, केशव झालगायत १६ जनाको कार्यकारिणी सदस्य पद गुमेको छ। अब उनीहरू पार्टीको साधारण सदस्यमात्र रहनेछन्। श्रेष्ठका अनुसार जसपाको कार्यकारिणी समिति अब ३५ सदस्यीय भएको छ।

निर्वाचन आयोगमा ‘हेडकाउन्ट’ हुँदा उपेन्द्र यादवलाई साथ दिएका कार्यकारिणी समितिका ३४ सदस्यलाई अद्यावधिक गरिएको सूचीमा राखिएको छ। हेडकाउन्ट हु्ँदा तटस्थ देखिएका रेशम चौधरीलाई पनि अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिमा राखेका छन्। हेडकाउन्टमा महन्थ ठाकुरको पक्षमा उभिएका १६ जना कार्यकारिणी सदस्यलाई सूचीबाट हटाइएको छ।

ठाकुरले हाल जसपाका अध्यक्षका नामबाट तराई/मधेसमा कार्यक्रम गरिरहेका छन्। त्यस्ता कार्यक्रममा उपेन्द्र यादवको भण्डाफोर गर्ने गरिएको छ। आयोगले अद्यावधिक गरेको सूचीमा अध्यक्ष पदबाट हटाइएपछि भने ठाकुरले अब त्यस्तो गर्न पाउनेछैनन्।

आयोगका प्रवक्ता श्रेष्ठका अनुसार ठाकुर–महतोलगायत नेताहरूले दल त्याग गरेको जानकारी नगराएसम्म अथवा उनीहरूले नयाँ दल नखोलेसम्म जसपामा उनीहरूको साधारण सदस्य पद कायमै रहन्छ। ‘जसपाको साधारण सदस्य रहेसम्म ठाकुर, महतोलगायत उनीहरूनिकट सांसदहरूको सांसद पद गुम्दैन,’ आयोग स्रोतले भन्यो। जसपाको आधिकारिकता विवादमा आयोगले साउन ११ गते उपेन्द्र यादवलाई आधिकारिकता दिने निर्णय गरेको थियो।

प्रकाशित: २६ श्रावण २०७८ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App