१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी सरकारका तीन मन्त्रीको सांसद पद गुम्यो

लुम्बिनीका तीन मन्त्रीको सांसद पद गुमेको छ। प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादव सांसद पदबाट पदमूक्त भएका हुन्।  

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा तीनै जना सांसद पदबाट पदमुक्त भएको उल्लेख छ। यी तीनै जना पार्टीको नीति विपरित सरकारमा सहभागी भएको भन्दै मंगलबार जसपाको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।  

जसपा संसदीय दलले त्यसकै आधारमा बिहीबार प्रदेशसभा सदस्यबाट उनीहरुलाइ निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।  

गत वैशाख ६ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए। अविश्वासको प्रस्तावमा जसपाका सन्तोषकुमार पाण्डेय र बिजयबहादुर यादवले पनि हस्ताक्षर गरेका थिए।  कल्पना पाण्डेले हस्ताक्षर गरेकी थिइनन्।  

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकै दिन पाण्डेय र यादवसहित कल्पना पाण्डेलाई पोखरेलले मन्त्री बनाए। त्यतिबेलै जसपाले उनीहरुलाई कारबाही गरेको थियो। तर त्यसका विरुद्ध उनीहरु सर्वोच्च गए। सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको सांसद पद तत्कालका लागि जोगाइ दिएको थियो। तर पछिल्लो पटक जसपाको उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि यी तीन जना फेरि पार्टीको कारबाहीमा परेका हुन्।  

त्यससंगै उनीहरुको सांसद पद पनि खुस्किएको हो। प्रदेशसभामा रहेका जसपाका ६ जना सांसद मध्ये मुख्यमन्त्री पोखरेलले ४ जनालाई मन्त्री बनाएर सत्ता टिकाएका थिए। जस मध्ये एक जना सुमन शर्मा रायमाझी यसअघि नै मन्त्री पद त्यागेर आफ्नै पार्टी जसपामै फर्कीसकेकी छन्।

प्रकाशित: १५ श्रावण २०७८ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App