१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

व्यवसायी श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई दिएका छन्।

असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएलगत्तै कांग्रेस र माओवादी केन्द्रका दुई/दुई सांसदलाई मन्त्री बनाएका देउवाले सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद र आफ्नै पार्टी कांग्रेसभित्रको विवाद व्यवस्थापन तथा सरकारको न्यूनतम साझा कार्यक्रम तय भएपछि सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, देउवाले आइतबार अचानक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँमा रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन्।

लिटिल एनजल्स, आइडिया मोडल, स्मल हेभनलगायत विद्यालयका सञ्चालक श्रेष्ठ झण्डै चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन्। महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल र जनमैत्री अस्पतालमा समेत आबद्ध उनले जलविद्युत् र कृषि क्षेत्रमा पनि हात हालेका छन्। उनी दोस्रो संविधानसभा सदस्यमा मन्त्रिपरिषद्बाट मनोनीत २६ जनामध्येमा परेका थिए। कोरोना संक्रमणबाट जनता आहत बनेको र तेस्रो लहर आउने विज्ञहरूले औंल्याइरहेका बेला श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको हो।  

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको भन्दै अलोचना भएको छ। ‘डोबाटे विकको गण्डकीमा अपमानपूर्वक नियुक्ति रोकिनु र आज शिक्षाका व्यापारी तथा बैंकका मालिक उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउनु दुवै घटनालाई नेपाली कांग्रेसको ऐतिहासिक विचलनको रुपमा लिनुपर्छ,’ नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले सामाजिक  सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तै हुँदै गए कांग्रेसको लोकप्रियतामा सुशीला कार्कीमाथि महाभियोग प्रकरणले सरह क्षति निश्चित छ ।’पद तथा गोपनीयताको शपथसँगै आइतबार पद बहाली गरेका श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्ध सबै नेपालीलाई खोप लगाउने भएकाले आफ्नो सम्पूर्ण ध्यान खोपमा केन्द्रित गर्ने बताए।

 ‘अहिले खोप व्यवस्थापन गर्नु छ। गरिबलाई स्वास्थ्य सेवा दिनु छ,’ उनले पत्रकारसँग भने, ‘अहिले पहिलो प्राथमिकता खोप हो।’ स्वास्थ्य क्षेत्रका सानासाना समस्या पनि थाहा भएको जिकिर गर्दै उनले सरकारी अस्पतालको व्यवस्थापन राम्रो बनाउने बताए। देउवाले असार २९ गते प्रधानमन्त्री भएकै दिन कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन तथा माओवादी केन्द्रबाट पम्फा भुसाललाई ऊर्जा र जनार्दन शर्मालाई अर्थमन्त्री बनाए पनि अन्य मन्त्रालय मन्त्रीबिहीन छन्।

प्रकाशित: ११ श्रावण २०७८ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App