१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले विवाद नथामिने संकेत

प्रमुख विपक्षी नेकपा एमालेभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन। प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेका भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि विवाद यथावत् रहेको सन्देश प्रवाहित भएको छ। एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  

माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम र प्रेमबहादुर आलेलाई स्पष्टीकरण सोधिने भएको छ। त्यस्तै धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। 

उनका अनुसार विघटित कार्यदलले पेस गरेको एकताको १० बुँदे सहमति बैठकले अनुमोदन गरेको छ ।एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि नेपालसहितका सांसद छलफलमा जुटेका थिए। सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)अनुसार बन्ने सरकारलाई विश्वासको मत दिँदा दलीय ह्विप नलाग्ने व्याख्या गरेको र पार्टीले कारबाही वा स्पष्टीकरण सोध्न नपाउने नेपाल पक्षका सांसदको तर्क छ।  

पार्टी निर्देशन नमाने पनि देउवालाई विश्वासको मत नदिने सांसदलाई भने एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छैन। भीम रावलले मतदानअघि राजीनामा घोषणा गरेका थिए। घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, राजबहादुर बुढा, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट र झपट रावल मतदानपूर्व संसद् बैठकबाट बाहिरिएका थिए । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि दिल्लीमा छन्। उनले दिल्लीबाटै देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए।

मतदान नगरी बैठकस्थलबाट बाहिरिएका सांसदले भने देउवा सरकारलाई विश्वासको मत नदिँदा ओलीसँग सहकार्य सहज हुने ठानेका हुन्। मतदान वहिस्कार गर्ने र विपक्षमा मतदान गर्ने सांसद समेतका आधारमा ओलीले यसअघि विश्वासको मत लिएको बेलामा भन्दा कम सांसद आफ्नो पक्षमा पाएका छन्। यसपटक उनको पक्षमा ८३ सांसद मात्र रहेका छन्। उनले विश्वासको मत लिँदा ९३ सांसद आफ्नो पक्षमा थिए।

प्रकाशित: ५ श्रावण २०७८ ००:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App